विराटनगर । नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशनअन्तर्गतको जारी मतगणनामा अध्यक्षका उम्मेदवारबीच कडा टक्कर देखिएको छ ।
यद्यपि, इतर पक्षको अग्रता कायमै छ । प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार हालसम्म ६ सय ८० मतगणना भइसकेको छ । जसमा अध्यक्षका उम्मेदवार इतर पक्षका अजम्बर राईले ३ सय ३२ र संस्थापन पक्षका राजकुमार ओझाले ३ सय २१ मत पाएको उनले बताए । राई र ओझाबीचको मतान्तर ११ मात्रै छ । ११ मतले राई अगाडि रहेका हुन् ।
यसअघि सार्वजनिक गरिएको मतपरिणाम अनुसार राई २३ मतले अगाडि थिए । पछिल्लो परिणाम अनुसार ओझाले मतान्तर घटाएका छन् । उपाध्यक्षमा इतर पक्षका सागर थापाले ३ सय २० मत पाउँदा संस्थापनतर्फका शान्तिकुमारी लिम्बू भुजेलले ३ सय ५ मत ल्याएकी छन् ।
सचिवमा इतर पक्षका सोमराज थापाले ३ सय ४७ मत पाउँदा संस्थापन पक्षका रविन थापा २ सय ८७ मतमा सीमित भएका छन् । उपसचिवमा इतर पक्षका सन्तोष वान्तवाले ३ सय ७० मत पाउँदा संस्थापनका ईजालाल राजवंशीले २ सय ४६ मत ल्याएका छन् । महिला उपसचिवमा भने संस्थापन पक्षकी शिल्पा निराला कार्की इतर पक्षकी उषा झालाई उछिनेर अघि बढेकी छन् ।
कार्कीले ३ सय २३ मत पाउँदा झा ३ सय ८ मतमा सीमित भएकी थिइन् । यसअघि घोषणा गरिएको मतपरिणाम अनुसार कार्कीभन्दा झा ४ मतले अघि थिइन् । एमाले मोरङको जिल्ला अधिवेशनमा ८ सय ८८ मत खसेको थियो ।
अब २ सय ८ मत गणना हुन बाँकी रहेको जानकारी प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले दिए । एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो । बिहीबार दिउँसोबाट मतगणना जारी छ । पार्टी कार्यालय पाञ्चालीमा मतगणना भइरहेको हो ।
प्रतिक्रिया