इलाम : शरीरमा मोटो ज्याकेट र टाउकोमा बाक्लो टोपी लगाएका इलाम बजारका युवा प्रवेश पराजुलीले हातबाट पञ्जा फुकाल्दै भने – ‘के सारो जाडो हौँ ? फागुनमा पनि यति सारो जाडो भएको त पहिलोपटक होला ।’
उनले भनेजस्तै यसपटक फागुनमा पनि निकै जाडो छ । माघ तेस्रो सातापछि जाडो हट्दै गए पनि फागुन तेस्रो साता बितेपनि अझै जाडो नहटेको उनले बताए । पुस र माघ महिनाकोजस्तै फागुनमासमेत चिसो भएको उनको भनाइ छ ।
उनकाअनुसार यसपटक हिउँद लाग्दैगर्दा विगतमा जस्तो धेरै जाडो महसुस भएको थिएन । तर अहिले भने अत्याधिक चिसो बढेको छ ।
पुस र माघ महिनामा कम जाडो भएकाले धेरै स्थानीयले मौसम परिवर्तनसँगै हिउँमा पनि चिसो नहुने रहेछ भन्ने अनुमान गरेका थिए ।
उनीहरूले यसपटक चिसो नै नभई मौसम फेरिने अनुमान गरे पनि फागुन महिनामा चिसो ह्वात्तै बढेको छ । यो समय विगत वर्षहरूमा चिसो हट्ने गरेको भए पनि यस वर्ष चिसो नहटेपछि यहाँका नागरिक चिसोसँग जुधिरहेका छन् ।
चिसो नहट्दा बिरामी, बृद्धबृद्धा तथा बालबालिकाहरूलाई समस्या हुने गरेको छ । किसानहरूलाई समेत चिसो नहट्दा बाली नाली लगाउन समस्या हुने गरेको छ । चिसो हटेपछि पहाडी जिल्लामा मकै लगायतका बालीनाली लगाइन्छ । तर माटो नै नतातेपछि समस्या हुने गरेको किसानहरूको भनाइ छ ।
स्थानीय युवा रोशन काफ्लेका अनुसार यस वर्ष फागुन अन्तिममा पनि धेरै चिसोको महसुस भएको छ ।
फागुन महिनामा विगत भन्दा यस वर्ष बढी जाडो भएको उनले बताए । अघिल्ला वर्षहरूमा यहाँका विभिन्न स्थानमा हिउँ परेपनि यसपटक भने एकदमै पातलो गरी हिउँ झरेको काफ्लेको भनाइ छ ।
हिउँसँगै पानी पनि बारम्बार आउने गरेको थियो । यसपटक हिउँदमा खासै पानी आएन । पानी नपरेपछि आकाशमा रहेको धुवाँ र धुलो नहटेका कारण चिसो रहिरहेको अनुमान छ ।
धुलो रहिरहेका कारणले पनि थप चिसो थपिएको काफ्ले बताउँछन् । ‘यस वर्ष बाक्लो हिउँ पनि परेको छैन, जाडो पनि हटेको छैन,’ उनले भने ।
इलाम नगरपालिका ६ खरेल डाँडाका बालकुमार पोख्रेललाई यस सिजनमा गएको वर्ष भन्दा बढी जाडो महसुस भएको छ । उनले भने, ‘यसपटक त जाडो जाँदैन कि जस्तो पो छ ।’ उनले घरको काम गर्न पनि जाडोकै कारण असहज भएको बताए ।
७० वर्ष उमेर पार गरेकी चित्रकला पोख्रेललाई पनि जाडोले समस्या भएको छ । उनले भनिन्, ‘दमको रोग त्यसमा पनि चिसो छ । कहिले जान्छ जस्तै भएको छ, यस वर्षको जाडो पनि ।’
जिल्लाको उच्च पहाडी क्षेत्रका बासिन्दालाई मौसम नतात्दा झनै समस्या हुने गरेको छ ।
अघिल्ला वर्षहरूमा सामुन्द्रिक सतहबाट तीन हजार ६ सय ३६ मिटरको उचाइमा रहेको पर्यटकीय स्थल सन्दकपुरसम्म र आसपासका क्षेत्रमा बाक्लो हिउँ पर्ने गरेको थियो । तर यस वर्ष धेरै हिउँ नपरेको र चिसोसमेत फागुन अन्तिम सम्म नै रहेको छ ।
लेकाली क्षेत्रमा विशेषगरी पशुपालन हुने गरेको छ । पशुपालन गर्ने मानिसलाई झनै समस्या भएको सन्दकपुर गाउँपालिकाका खेमराज ढकाल बताउँछन् ।
पहाडका मध्यभागमा यति बेला पनि तुसारो परिरहेको छ । तुसारोका कारण किसानले रोपेको आलु र अन्य नगदे बालीमा समेत असर पु¥याएको किसान ठाकुर खतिवडाले बताए ।
खासगरी विद्यालय जाने उमेर समूहका बालबालिकालाई समस्या भएको छ । विद्यालय जाँदा मात्र विद्यालय पोसाक र कक्षा कोठामा बस्दा बढी चिसो महसुस भएको विद्यार्थीहरूको भनाइ छ ।
मोटरसाइकलमा सवार विभिन्न पेसा र व्यवसाय गर्नेहरूलाई समेत उस्तै समस्या भएको छ । स्थानीय दीपकराज शर्मा विभिन्न कामका लागि मोटरसाइकलमा बाहिर जाँदा चिसोकै कारण रुघाले सताउने गरेको बताउँछन् ।
चिसोबाट बच्न बाक्लो कपडा लगाए पनि मोटरसाइकलमा चिसो बढी हुने गरेको उनको भनाइ छ ।
जति चिसोले समस्या गराएको छ, वर्षा हुन नसक्दा किसानलाई अझै समस्या भएको उनले बताए । महँगो मूल्यमा बिक्री हुने अलैँची, विभिन्न किसिमका घाँस लगायत किसानले लगाएका बालीमा पानी लगाउनुपर्ने समस्या छ ।
पाइप लगाएर र कुलोमार्फत पानी पु¥याउनु परेको किसानहरूको भनाइ छ । यसैगरी खोला खोल्सामा नै पानी सुक्दै गएको छ ।
३० वर्ष यताकै बढी चिसो
यो समयको चिसो इलाम लगायतका क्षेत्रमा ३० वर्ष यताकै भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सामान्य हेर्दा विगत वर्षहरूभन्दा यस वर्ष चिसो नै भएको जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोख्रेलले बताइन् ।
उनका अनुसार देशैभर नै हालसम्म चिसो रहेको छ । तीन दिनयता चिसो थप बढेको उनले बताइन् । यो चिसो चैत्र महिनासम्म रहने उनको भनाइ छ ।
इलाम बजारको तापक्रम फागुन २० गतेको न्यूनतम तापक्रम १२ डिग्री रहेको थियो । अधिकतम् २१.४ डिग्री सेल्सियस रहेको उनले बताइन् ।
त्यस्तै फागुन २१ गते न्यूनतम ११.६ देखि अधिकतम १९.८ रहेको थियो । त्यसयता अझ चिसो बढेको अनुमान रहेको छ । न्यूनतम इलाम बजारको तापक्रम २२.९ लाई सामान्य मौसमका रूपमा लिइने गरेको उनले बताइन् ।
तर फागुन महिनामा पनि २२ डिग्री सेल्सियस पुग्न नसक्दा चिसो अझै हुने अनुमान गरिएको छ ।
‘सामान्यभन्दा कम तापक्रम रहेकाले पनि चिसो रहिरहेको हो । तत्काल वर्षा हुन सक्ने सम्भावना नभएका कारण पनि तत्कालै चिसो हट्दैन,’ उनले भनिन्, ‘एकपटक पानी परेपछि चिसो हट्छ ।’
चिसोबाट जोगिन चिकित्सकहरूको सुझाव
बिरामी तथा दीर्घ रोगीहरूलाई चिसोका कारण बढी समस्या हुने गरेकाले जोगिनका निम्ति चिकित्सकहरूले सुझाएका छन् ।
बिहान एकैछिन घाम देखिए पनि दिउँसो हुँदै गएपछि हुस्सु र कुहिरो लाग्दा चिसो बढी महसुस हुने गरेको छ । न्यून आयस्रोत भएका र विपन्न मजदुर वर्गलाई यसले बढी प्रभावित पारेको छ ।
ठाउँ ठाउँमा आगो बालेर तापिने गरिएको छ । चिसोले गर्दा बढी बिरामी परेका वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भएका छन् । चिसोले वृद्धवृद्धामा दम, रुघाखोकी, बाथ लगायतका रोगहरू बढ्ने भएकाले सचेत हुन चिकित्सकहरूले आग्रह गरेका छन् ।
बालबालिकामा निमोनिया, छाती, घाँटी लगायत श्वासप्रश्वासका रोग बढ्न सक्ने भएकाले चिकित्सकहरूले जोगाउन सुझाएका छन् ।
तातोमा बस्ने, झोलिलो र पोसिलो कुरा खान पनि चिकित्सकहरूको सुझाव छ ।
प्रतिक्रिया
लेखकको बारेमा
टीका खतिवडा
इलामबाट पत्रकारिता गर्ने खतिवडा, प्रदेश खबरका लागि समेत कलम चलाउँछन् ।
प्रतिक्रिया