काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले हामी सबैको ध्यान महिला सहभागिता ५० प्रतिशत गर्ने तर्फ हुनुपर्ने बताएका छन् ।
शनिवार काठमाडौँमा ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कानुनी रूपमा पुरुष र महिलाबिच कुनै विभेद नभए पनि वास्तविक रूपमा कार्यान्वयन हुन नसकेको भन्दै महिलाहरूको सहभागिता ३३ होइन ५० पु¥याउनुपर्ने बताए ।
उनले भने, ‘महिलाको समस्या महिलाको मात्र होइन, हाम्रो आमाको समस्या हो, हाम्रो दिदीबहिनीको समस्या हो, हाम्रो श्रीमती र छोरीको समस्या हो, त्यस कारण हामी सबै एकताबद्ध भएर काम गर्नुपर्छ । कानुनी अधिकारको कुरामा हाम्रो नयाँ संविधानले स्पष्ट रूपमा संविधानको धारा ३८ ले समानताको अधिकार दिई सकेको छ । अब पुरुष र महिलामा कानुनी रूपमा कुनै विभेद छैन, तर वास्तविक रूपमा हेर्दा अहिले पनि महिलाहरू ३३ प्रतिशतमा हुनुहुन्छ । तर हाम्रो लक्ष्य ५० प्रतिशतको हुनुपर्छ ।’
यस्तै, उनले दिदीबहिनी र छोरीहरूले हिम्मत गर्ने हो भने समानताको आधारमा अधिकार र व्यवस्था आउन धेरै समय नलाग्ने बताए ।
सोही कार्यक्रममा उपसभामुख इन्दिरा राणा मगरले सामाजिक, आर्थिक, राजनीतिक रूपान्तरणको कुरा गरेर मात्र केही नहुने भन्दै त्यसको लागि नारी पुरुष एक भएर अगाडि बढ्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘हामी अनुशासित हुनुपर्छ । नारी एकताबद्ध हुनुपर्छ अनि मात्र समाज परिवर्तन हुन्छ । हामी सामाजिक, आर्थिक, राजनीतिक रूपान्तरणको कुरा गर्छौँ तर हामी खेल मात्र खेल्छौँ परिवर्तन आजसम्म भएको छैन । हामीले नारी पुरुष एक भएर मात्र रूपान्तरण गर्न सक्र्छाँ, यो समाज परिवर्तन गर्न सक्छौँ । केही महिलाहरू माथि पुग्दैमा महिला सशक्तीकरण हुन सक्दैन ।’
यसै गरी, राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले महिलाहरूको सम्मानको कुरा गर्दा महिला भनेर पूजा गर्नुपर्ने नभैइ अपमान नगरे पुग्ने बताइन् ।
उनले भनिन्, ‘मैले महिलाहरूको सम्मानको कुरा गर्दा महिला भनेर पूजा गर्नु पर्दैन । मात्र अपमान नगरे पुग्छ, म यो आग्रह पनि गर्न चाहन्छु । हरेक क्षेत्रमा चाहे त्यो कर्मचारीको क्षेत्रमा होस्, चाहे सुरक्षाकर्मी भित्रको होस्, घरमा काम गर्ने महिलाको कुरा मात्र होइन सबै महिलाहरूको सम्मानको कुरा हो । सम्मान भनेको कामले होइन हाम्रा नियत सफा हुनुपर्छ ।’
महिलाको बारेमा एक दिन मात्र कुरा गरेर नहुने भन्दै महिला हरेक हिसाबमा अगाडि बढ्न सक्ने अवस्था बनाउनुपर्ने उनको भनाई छ ।
प्रतिक्रिया