धरान : सुनसरीको धरानमा प्रहरीले दुईजनालाई ठूलो परिमाणको लागू औषधसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार वैशाख २३ गते साँझ, धरान उपमहानगरपालिका–३ स्थित क्वालिटी फुड कर्नर होटल एण्ड लजको कोठा नं. ३ बाट ३१ वर्षीय निखिल भन्ने वसन्त राजवंशीलाई नियन्त्रणमा लिइएको हो।
उनी कैलाली, धनगढीका स्थायी बासिन्दा हुन्। राजवंशीको साथबाट ३७० क्याप्सुल स्पास्मोप्रोक्सिभोन बरामद गरिएको छ।
यस्तै, सोही दिन साँझ ८:१५ बजे धरान उपमहानगरपालिका–८, सभागृह नजिकैको एक घरमा गरिएको अर्को छापामा ३८ वर्षीय मनोज विकलाई पक्राउ गरिएको छ। उनको कोठाबाट ८९२ क्याप्सुल स्पास्मोप्रोक्सिभोन, ७० चक्की नाइट्रोसन र ४० बोतल स्कुफ बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले दुबैजनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी आवश्यक कानुनी कारबाही अगाडि बढाएको छ।
प्रतिक्रिया