इजरायल र हामासबीच गाजामा युद्धविराम र बन्धक मुक्तिसम्बन्धी अप्रत्यक्ष वार्ता आइतबार कतारको राजधानी दोहामा पुनः सुरु हुने भएको छ । यो वार्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको अमेरिका प्रस्थानअघि प्रारम्भ हुँदैछ, जसअन्तर्गत उनी सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि वाशिङ्टन जाने तयारीमा छन् ।
नेतान्याहूले दोहामा वार्ता टोली पठाउने जानकारी दिए । कतार यस द्वन्द्वमा एक प्रमुख मध्यस्थ राष्ट्रका रूपमा सक्रिय रहँदै आएको छ । यद्यपि, उनले हामासले अमेरिकी समर्थनमा तयार गरिएको युद्धविराम प्रस्तावमा दिएको प्रतिक्रिया ‘स्वीकार्य नहुने माग’ हरू समावेश भएको टिप्पणी गरेका छन् ।
एक प्यालेस्टिनी अधिकारीका अनुसार दोहामा सुरु हुने वार्ताले सम्भावित युद्धविरामका शर्त, बन्धक तथा बन्दीहरूको आदानप्रदान र गाजाको राफा नाका पुनः खोल्ने विषयमा केन्द्रित रहनेछ ।
हामासका तर्फबाट वरिष्ठ वार्ताकार खालिल अल–हय्याको नेतृत्वमा वार्ता टोली दोहामा पुगिसकेको छ भने इजरायली टोली आइतबार दिउँसो प्रस्थान गरेको जनाइएको छ । नेतान्याहूले यसअघि इजरायली राष्ट्रपति इसहाक हेर्जोगसँग गाजाको अवस्था र क्षेत्रीय कूटनीतिक सम्बन्धबारे छलफल गरेका समाचारहरुमा जनाइएको छ ।
प्रस्तावित योजनाअनुसार ६० दिनको युद्धविराम अवधिमा हामासले १० जना जीवित बन्धक र केही शवहरू फिर्ता गर्नेछ, सट्टामा इजरायलले केही प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ । हामासले इजरायली फौजको आंशिक फिर्ता, युद्धविराम अवधिमा पुनः संघर्ष नदोहरिने ग्यारेन्टी र संयुक्त राष्ट्रसंघको खाद्यान्न वितरण प्रणाली पुनः लागू गर्ने माग पनि अघि सारेको बताइएको छ ।
यसैबीच, गाजामा मानवीय अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ । स्थानीय नागरिकहरू अत्यधिक खाद्यान्न अभावमा जीवन यापन गर्न बाध्य छन् । युएन मानव अधिकार कार्यालयले हालसम्म खाद्यान्न वितरणका क्रममा ५०० भन्दा बढी नागरिकहरूको मृत्यु भएको जानकारी दिएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार गाजामा हालसम्म ५७ हजार ४०० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्, जबकि इजरायली पक्षमा अक्टोबर ७, २०२३ को हमलामा एक हजार २१९ नागरिकको मृत्यु भएको थियो ।
दोहामा सुरु भएको वार्ताबाट दिगो युद्धविरामतर्फ प्रगति हुने आशा गरिएको छ, यद्यपि दुबै पक्षबीचका गम्भीर मतभेद अझै कायम रहेको बताइएको छ । यस वार्ताले दीर्घकालीन समाधानको मार्ग खोल्न सक्ने विश्लेषकहरूले अपेक्षा गरेका छन् ।
प्रतिक्रिया