इटहरी :तरहरामा १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । दौड प्रतियोगितामा देशभरका विभिन्न जिल्लाका साथै विदेशबाट समेत धावकहरूको सहभागिता रहेको थियो।
शनिबार आयोजित यो दौड तरहरा चोकबाट सुरु भई ब्रम्हपुर, भवानीपुर, अमाहा, कराइबन हुँदै इटहरी १ को वडा कार्यालय नजिकैबाट आँपगाछी हुँदै पुनः तरहरा चोकमा पुगेर सम्पन्न भएको थियो।
प्रतियोगितामा दौड पूरा गर्ने सबै धावकलाई मेडल प्रदान गरिएको थियो भने विजेताहरूलाई नगदसहित पुरस्कार वितरण गरियो।
प्रतियोगिता आठ वटा फरक विधामा आयोजना गरिएको थियो। १२ वर्षमुनिका बालबालिकाले ३ किलोमिटर दूरी तय गरे भने १६ वर्षमुनिका प्रतियोगीले १० किलोमिटर दौडिए। १६ देखि ४० वर्ष, ४० देखि ६० वर्ष, र ६० देखि ७५ वर्षसम्मका धावकहरूले पनि १० किलोमिटर दौडमा प्रतिस्पर्धा गरे। यस्तै, स्पाइनल इन्जुरी भएका प्रतियोगीहरूले १ किलोमिटर दौडमा भाग लिए।
गृहिणी तथा पारिवारिक रमाइलो दौडतर्फ ३ किलोमिटर दूरी समेटिएको थियो भने विदेशमा रहेका नेपालीहरूका लागि पनि १० किलोमिटर दौड समावेश गरिएको थियो।
तरहरा रनका अध्यक्ष शिवु रुम्दाली राईका अनुसार प्रतियोगिताको उद्देश्य क्षमतावान खेलाडीहरूको पहिचान र संरक्षण गर्नुका साथै समाजलाई दौडसँग जोड्नु थियो। प्रतियोगितामा दुई हजारभन्दा बढी धावकको सहभागिता रहेको थियो।
विजेताहरूलाई इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए।
प्रतिक्रिया