अस्ट्रेलिया : समुद्री आँधीले निम्त्याएको उच्च वर्षाका कारण अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा तीन लाख ३० हजारभन्दा धेरै घरधुरी विद्युत् विहीन भएका छन् ।
अल्फ्रेड नाम दिइएको आँधीका कारण एक जनाको मृत्यु भएको र उद्धारका लागि खटिएका १३ सैनिक घाइते भएका अस्ट्रेलियाली अधिकारीहरूले जनाएका छन् ।
आँधी मत्थर भएर अहिले वर्षामा परिणत भएको छ । तर आँधीको प्रभाव जमिनमा आइपुग्न बाँकी रहेको कारण स्थानीय प्रशासनले यसको खतरा अझै ‘नटरेको’ बताएका छन् ।
आँधी जमिनमा अवतरण हुनअघि नै रूख र बिजुलीका प्रसारण लाइनहरू ढालेका थिए । होचा क्षेत्रमा सडकहरू डुबानमा परेका छन् । प्रहरीले एक जना ६१ वर्षका पुरुषको शव बाढीमा भेटिएको बताएको छ । ती व्यक्ति बाढीमा कार बगेर हराइरहेका पुरुष भएको अनुमान गरिएको छ ।
उद्धारका लागि गइरहेका सैनिकहरू सवार एउटा ट्रक चिप्लिएर पल्टिएको र अर्को ट्रक त्यही पल्टिएको ट्रकमा गएर ठोक्किँदा १३ जना सैनिक घाइते भएको अधिकारीहरूले बताएका छन् ।
अल्फ्रेड आँधीले नेपालीहरूको समेत उल्लेख्य बसोबास रहेको ब्रिसबेनमा असर पुर्याउने पूर्वानुमान गरिएका छन् । शनिबारबाट आँधीको प्रभाव त्यसभन्दा भित्री क्षेत्रहरूमा पर्ने आँकलन गरिएको छ ।
आँधीको बाटोमा पर्ने स्थानहरूबाट दशौँ हजार मानिसहरूलाई उद्धार गरेर अन्यत्रै सारिएको छ । बाँकी मानिसहरूलाई पनि घर बाहिर ननिस्कन भनिएको छ ।
क्विन्स्ल्यान्ड र उत्तरी न्यू साउथ वेल्सका करिब ४० लाख मानिसहरू आँधीको जोखिममा छन् । दुवै क्षेत्रमा मौसमका दर्जनौँ चेतावनीहरू जारी गरिएका छन् ।
ऊर्जा वितरक कम्पनी इनर्जेक्सले उत्तरपूर्वी क्विन्स्ल्यान्ड क्षेत्रमा दुई लाख ८७ हजार उपभोक्ताहरू बिजुलीविहीन भएको बताएको छ ।
अर्को कम्पनी इसेन्सिअल इनर्जीले न्यू साउथ वेल्सका ४२००० घरहरूमा बिजुली बन्द भएको बताएको छ ।
क्विन्सल्यान्डको राजधानी ब्रिसबेनका बासिन्दा शुक्रवार राती ठूलो आँधी र वर्षाको त्रासबीच सुतेका थिए । शनिबार बिहान मात्रै उनीहरूले आँधी कमजोर भएको थाहा पाए ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनेजीले गोल्ड कोस्ट भनिने तटीय क्षेत्रमा ‘सबैभन्दा खराब अवस्था आउन बाँकी नै रहेको’ भन्दै सुरक्षाका सम्भावित सबै उपाय अवलम्बन गर्न नागरिक र उद्धारकर्ताहरूलाई निर्देशन दिएका छन् ।
केही दिनयता खराब मौसमी अवस्था सामना गरिरहेको त्यस क्षेत्रमा अझै पनि अवस्था चरम रहेको बताइएको छ । त्यस क्षेत्रमा मुसलधारे वर्षा र तीव्र गतिको हुरी चलिरहेको छ।
बिजुलीका प्रसारण लाइनहरू ढलेका छन् र सयौँ रूखहरू बगैँचा, पार्क र मुख्य सडकहरूमा ढलेका छन्। उक्त क्षेत्रमा ठूलो मात्रामा भग्नावशेषहरू देखिएका छन् । एजेन्सी
प्रतिक्रिया