काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालले २६ औ संस्करणको पुष्प प्रदर्शनीको आयोजना गर्ने भएको छ ।
सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी एसोसिएसनले ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ यही चैत्र १ देखि ४ गतेसम्म २६ औँ ‘फ्लोरा एक्स्पो’ काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने जानकार दिएको हो ।
फ्लोरा एक्स्पोमा व्यवसायीक स्टल तथा अफिसियलहरु सहित गरी जम्मा ८२ वटा स्टल रहने एसोसिएसनले जानकारी दिएको छ ।
एसोसिएसनका अनुसार मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीहरूद्वारा उत्पादित फूल बिरुवाहरूको विभिन्न विधाहरूमा उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिङ्ग, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलङ्कारिक बिरुवा, उत्कृष्ट आलङ्कारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) स्वच्छ प्रतिस्पर्धा गराइनेछ ।
प्रतिस्पर्धामा समावेश भएका पुष्पको विभिन्न विद्याहरूको मूल्याङ्कन विषय विज्ञ प्राविधिकद्वारा हुनेछ । प्रतिस्पर्धामा प्रथम तथा उत्कृष्ट हुन सफल पुष्प व्यवसायीलाई मेला समुद्घाटन समारोहको अवसरमा नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ ।
साथै सदा झैँ यस बर्ष पनि विगत लामो समयदेखि निरन्तर रूपमा पुष्प व्यवसाय गरिरहेको नर्सरी व्यवसायीहरू मध्ये एक जनालाई छनौट गरी मेला समुद्घाटन कै अवसरमा उक्त नर्सरीलाई कदर पत्रद्वारा सम्मान गरिने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।
यस पुष्प मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनीहरू, व्यवसायीहरू तथा विभिन्न सङ्घ संस्थाहरूको सहभागिता रहने छ ।
पुष्प मेलामा मौसमी फूल, फूल फूल्ने तथा नफूल्ने आलङ्कारिक बोट बिरुवाहरू, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, विउविजन, ग्रिनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, थोपा सिचाई प्रविधि, आधुनिक पुष्प खेती प्रविधि, जैविक विषादी, विभिन्न प्रकारका गमलाहरू, पुष्प सजावटका प्रदर्शनी तथा विक्री कक्ष रहने छन् ।
घर आँगन बगैँचा सजाउन, पुष्प व्यवसायबारे ज्ञान सिप हासिल गर्न चाहने व्यक्ति, सङ्घ संस्थाहरूका लागि यस २६ औँ फ्लोरा एक्स्पोले महत्त्वपूर्ण योगदान पु¥याउने एसोसिएसनले विश्वास लिएको छ ।
यस बर्ष एक्स्पोमा करिब ६० हजार अवलोकनकर्ताद्वारा अवलोकन हुने तथा एक करोड बढीको व्यावसायिक कारोबार हुने अपेक्षा आयोजकको छ ।
प्रतिक्रिया