इलाम रोङका एक सय २१ किसान ‘गुरु किसान’ का रूपमा छनोट

मंगलबार, २७ फागुन २०८१
इलाम : रोङ गाउँपालिकाले एक सय २१ जनालाई ‘गुरु किसान’का रूपमा छनोट गरेर अभिमुखीकरण तालिम दिएको छ । करिब चार हजार पाँच सय किसानमध्ये पहिलो चरणमा ती किसानलाई छनौट गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले उत्पादकत्वमा प्रतिस्पर्धा गराउन उक्त कार्यक्रम ल्याएको जानकारी दिए। छवटै वडामा वडास्तरीय अभिमुखीकरण तालिम चलाएको पालिकाले छानिएकालाई ‘गुरु किसान’ के हो ? उनीहरूको काम, कर्तव्य, अधिकार र अबको भूमिकाका सम्बन्धमा तालिम दिएको जनाएको छ । “अहिले एक सय २१ जना छानिनुभएको छ, यो सङ्ख्या क्रमशः वृद्धि हुन्छ”, गाउँपालिका अध्यक्ष स्याङ्बोले भने, “किसानलाई उत्पादकत्वमा प्रतिस्पर्धा गराउन गाउँपालिकाले विगत वर्षदेखि यो अवधारणा अघि सारेको हो ।” यो अवधारणा नेपालमा नै पहिलो भएको गाउँपालिकाको दाबी छ । यही चैत ७ गते एक कार्यक्रमका बीच औपचारिक रूपमा ‘गुरु किसान’ घोषणा गरिने स्याङ्बोले बताए।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार