धरान : आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा धरान उपमहानगरपालिकाको महेन्द्र, हात्तिसार र इञ्जिनियरिङ क्याम्पसहरूमा विद्यार्थी सङ्गठनहरूले गठबन्धन गरेका छन् ।
शुक्रबार भएको उम्मेदवारी दर्तामा नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियुले सहमति गरेका हुन् ।
महेन्द्र र हात्तिसार क्याम्पसमा गठबन्धन भएको नेपाल विद्यार्थी सङ्घ केन्द्रीय सदस्य संगीता बाहिङ राईकाअनुसार इञ्जिनियरिङ क्याम्पसमा भने गठबन्धन भएको छैन ।
नेविसंघ र अनेरास्ववियुको गठबन्धन तर्फबाट महेन्द्र क्याम्पसको सभापतिमा नेविसंघका प्रशान्त राईको उम्मेदवारी परेको छ । केन्द्रिय प्राविधि क्याम्पस हात्तिसारमा अनेरास्ववियुका अनिरुद्ध श्रेष्ठले सभापतिमा उम्मेदवारी दिएका छन् ।
महेन्द्र र हात्तिसारमा सभापति उम्मेदवारमा गठबन्धन भएको राईले जानकारी दिए ।
महेन्द्र क्याम्पसमा सभापतिका उम्मेदवारहरू नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको तर्फबाट तेजबहादुर दुमी, समाजवादी विद्यार्थीबाट युवराज राई अलौकिक, अखिल क्रान्तिकारी मोहन वैद्य किरण निकटबाट अमृता राई रहेका छन् ।
यसैगरी केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा अनेरास्ववियु क्रान्तिकारी र स्वतन्त्र समूहबीच गठबन्धन भएको छ । जसमा स्वतन्त्र समूह तर्फका सभापतिको उम्मेदवार पेशलराज कार्की उम्मेदवारी परेको छ ।
पूर्वाञ्जल इञ्जिनियरिङ क्याम्पसमा सभापतिको उम्मेदवारहरू नेविसंघ तर्फबाट सागर बत्स्याल, अनेरास्ववियु क्रान्तिकारी तर्फबाट करण मगर, अनेरास्ववियुको तर्फबाट ईश्वर बन्जाडे, समाजवादी विद्यार्थी (उपेन्द्र यादव) समूहबाट गणपति झा, स्वतन्त्र विद्यार्थी समूहको तर्फबाट सविन धितालको उम्मेदवारी परेको छ ।
स्ववियु चुनावका लागि धरानस्थित महेन्द्र क्याम्पस र केन्द्रिय प्रविधि क्याम्पसमा १०र१० वटा विद्यार्थी सङ्गठन दर्ता भएका थिए । पूर्वाञ्चल इञ्निियरिङ क्याम्पसमा सात वटा विद्यार्थी सङ्गठनले चुनावका लागि सङ्गठन दर्ता गरेका थिए ।
महेन्द्र क्याम्पसमा कुल मतदाता संख्या चार हजार चार सय ८४, केन्द्रिय प्रविधि क्याम्पस हात्तीसारमा नौ सय ५६, इन्जिनियरिङ क्याम्पसमा दुई हजार तीन सय ६२ जना रहेका छन् ।
त्रिभुवन विश्वविद्यालयको धरानस्थित आङ्गिक तीन क्याम्पसमा करिब सात हजार आठ सय दुई जना मतदाता रहेका छन् ।
प्रतिक्रिया