काठमाडौँ । प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सिभिल अस्पतालको डाइरेक्टरमा मेरिट लिस्टको एक नम्बरमा रहेका प्रमोद यादवलाई नियुक्ति नदिइएर तीन नम्बरमा रहेका व्यक्तिलाई नियुक्ति गरिएको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मधेशी भएकै कारण प्रमोद यादवलाई सरकारले विभेद गरेको आरोप लगाएका हुन् ।
उनले भने, ‘भर्खर अहिले सिभिल हस्पिटलको डाइरेक्टरको नियुक्ति भएको छ । त्यहाँ पनि तीन नम्बरको मान्छेलाई गरियो । सिफारिस हुँदा मेरिट लिस्टको एक नम्बरमा प्रमोद यादव थिए । मधेशी भएको कारणले त्यहाँ नियुक्ति भएन । सरकारले के बुझेको छ रुमधेशी, जनजाति, दलित, महिला के भिख माग्नका लागि यो देशमा बसेको हो ?’
साथै, सरकारले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने गरी ड्राफ्ट गरेको कानुनको उनले विरोध गरे । उनले पदबाट बाहिरिइसकेपछि पनि जनतालाई ऋणको मारमा पारेर उनीहरूलाई सुविधा दिन नहुने बताए ।
उनले भने, ‘पूर्वविशिष्टको सुविधाको कुरा छ । पदमा हुँदा लुट्ने, ठुला–ठुला काण्ड गर्ने, एनसेलदेखि लिएर वाइटवडी काण्ड गर्ने । रिटायर्ड भएर पनि जनताको लुट्ने रु त्यो मिल्दैन । जनता ऋणको मारमा जाने, पूर्वविशिष्टहरू पदमा जाँदा पनि लुट्ने, रिटायर्ड भएर पनि लुट्ने । यो बन्द हुनुपर्छ।’
प्रतिक्रिया