स्ववियु निर्वाचन : आरोप प्रत्यारोपमा विद्यार्थी संगठन, तालाबन्दीमा प्रतिस्पर्धा

सोमबार, ०४ चैत्र २०८१
काठमाडौं : भोली अर्थात् चैत्र ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन विद्यार्थी सङ्गठनहरूबिच आपसी विवाद हुँदा चुनावी कार्यक्रमहरू प्रभावित भएका छन् । राजनीतिको नर्सरी मानिने स्ववियु निर्वाचनका सम्बन्धमा सङ्गठनहरूबिच मत भिन्नता जारी छ । यद्यपि, बहुसङ्ख्यक क्याम्पसमा निर्वाचन अन्तिम चरणमा पुगेको छ । क्याम्पसहरूमा मतदानका लागि भौतिक संरचनाहरूको निर्माण भइरहेको छ । तथापि,सत्तारूढ काङ्ग्रेसनिकट नेविसंघ, एमालेनिकट अनेरास्ववियु, प्रतिपक्षी माओवादी निकट अखिल क्रान्तिकारीलगायत सङ्गठनको तालाबन्दीले निर्वाचन प्रभावित भएको छ । निर्वाचन नजिकिएसँगै विवाद उत्कर्षमा पुगेपछि काठमाडौं उपत्यका भित्रका ठुला क्याम्पसमा तालाबन्दी समेत गरिएको छ । तर चुनावी मैदानमा रहेका विद्यार्थी सङ्गठनका नेताहरूले लोकप्रिय एजेन्डाहरूसहित आफूहरूले चुनाव जित्ने दाबी गरिरहेका छन् । सत्तामा कांग्रेस एमालेबिच सहकार्य रहेकाले देशभरका एकाध बाहेक अधिकांश क्याम्पसमा सत्तापक्षका विद्यार्थी सङ्गठनहरूबिच सहकार्य भएको छ भने विपक्षी दल निकट सङ्गठनहरू एक भएर चुनावी मैदानमा छन् । एकीकृत समाजवादी पार्टीनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका अध्यक्ष महेश श्रेष्ठले तोकिएको समयमा निर्वाचन गराउन नसके पनि केही दिन पर सारेर भए पनि सबै क्याम्पसमा शान्तिपूर्ण ढङ्गले निर्वाचन गराइने दाबी गरे । ‘हामी सम्पूर्ण कलेजहरूमा तयारीका साथ लागिरहेका छौ । केही कलेजहरूमा तालाबन्दीको कारण निर्वाचन प्रक्रिया अगाडि बढेको छैन । ती कलेजहरूमा पनि निर्वाचन आयोगलाई दबाब दिएर हामीले तोकिएको समयमा निर्वाचन गराउन दिइरहेका छौँ । गराउन नसके पनि केही दिन पर सारेर निर्वाचन गराउन शान्तिपूर्ण ढङ्गले अभियानमा लागेका छौ,’ उनले भने । उनले स्ववियु भनेको दबाबमूलक संस्था भएको भन्दै स्ववियु नहुँदा कलेजमा भ्रष्टाचार भइरहेको पनि बताए । अनेरास्ववियुको मुख्य एजेन्डा सर्टिफिकेट लागि पनि प्रदेश स्तरबाट वितरणको लागि पहल गर्ने र स्नातक तहमा पढ्ने विद्यार्थीहरू अनुसन्धान केन्द्रित बनाउन पहल गर्ने रहेको पनि बताए । उनले भने, ‘हाम्रो सङ्गठनको मुख्य एजेन्डा भनेको विश्वविद्यालयलाई डिजिटललाइजेसन गर्ने, समयमै नतिजा प्रकाशन नहुने समस्या रहेकाले त्यसको अन्त्य गराउने, नतिजा प्रकाशनपछि पनि सर्टिफिकेट लागि प्रदेश स्तरबाट वितरणको लागि पहल गर्ने र स्नातक तहमा पढ्ने विद्यार्थीहरू अनुसन्धानमूलक बनाउन पहल गर्ने लगायतका मुद्दाहरू अघि सारेका छौँ,’ उनले अगाडि भने,‘स्ववियु भनेको दबाबमूलक संस्था भएकाले आम विद्यार्थीको पक्षमा मात्र नभएर जनजीविकाको सन्दर्भमा, राष्ट्रियताको पक्षमा आन्दोलन समेत गर्छ । स्ववियु नहुँदा कलेजमा भ्रष्ट्राचार भइरहेको छ । शैक्षिक वातावरणको लागि नेपालीहरूको माग उठाउन पनि स्ववियु महत्त्वपूर्ण छ । हिजो स्ववियुबाट स्थापित भएका एजेन्डाहरू पास भइरहेको छन् । यी एजेन्डाहरूबाट डराउनेहरू स्ववियु खारेजीको कुरा गर्छन् । विद्यार्थीहरूको महत्त्वपूर्ण समस्या उठाउने संस्था स्ववियु आवश्यकता छ । केही विद्यार्थी सङ्गठनहरूले हिजो चुनाव जितेको आधारमा आज पनि मैले जित्नुपर्छ भन्ने छ । त्यसका कारण केही क्याम्पसहरूमा अराजकता प्रदर्शन गर्ने चरित्र देखा परेको छ । हाम्रो सङ्गठन गुण्डागर्दी गर्ने, तालाबन्दी गर्ने पक्षमा छैन । क्याम्पसहरूमा स्वच्छ र निष्पक्ष ढङ्गले निर्वाचन गराउने पक्षमा छ ।’ यस्तै, नेकपा ९एमाले०का अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष धर्म गिरीले विद्यार्थीहरूको बलिदानबाट स्वतन्त्र विद्यार्थी युनियनको जन्म भएको भन्दै समाज परिवर्तनको लागि स्ववियु महत्त्वपूर्ण रहेको बताए । उनले अन्य सङ्गठनहरूले आफूले जित्ने ठाउँमा स्ववियुको निर्वाचन गर्न खोज्ने आफूले हार्ने ठाउँमा निर्वाचन गर्न नखोज्ने र ताला बोकेर हिँड्ने गरेको बताए । उनले भने,‘लामो समयदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । हामी अनेरास्ववियुको तर्फबाट स्वतन्त्र विद्यार्थीको निर्वाचन हुनुपर्छ भनेर लागेका छौ । बलिदानबाट स्वतन्त्र विद्यार्थी युनियनको जन्म भएको हो । समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको संस्थाको निर्वाचनमा आज भिन्न सङ्गठनहरू आफूले जित्ने ठाउँमा निर्वाचन गर्न खोज्ने, हार्ने भइयो भने निर्वाचन गर्न नखोज्ने वा ताला बोकेर हिँड्ने गरिरहेका छन् । आफ्नो प्यानल मिलाउन नसकेर त्रिचन्द्र क्याम्पस, पद्मकन्या ,सङ्करदेव, बुटवल बहुमुखी, पशुपतिलगायतका क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । त्यसैले के भन्न चाहन्छु भने आन्तरिक कुराले विद्यार्थीहरूले आफ्नो नेतृत्व छान्ने पक्रियालाई नरोक्नुहोला । जसरी पनि स्ववियुको निर्वाचन हुनुपर्छ । आज स्ववियुको महत्त्व झन् बढेको छ । रचनात्मक तरिकाले अगाडि बढाउन पर्छ । अबको स्ववियुले नेपाललाई चाहिने जनशक्ति निर्माणका लागि काम गर्नुपर्छ ।’ स्ववियू आफ्नो अधिकारको लागि र खराबीको पक्षमा लड्ने संस्था भए पनि पछिल्लो समय राजनीतिमा जसरी दलाल, पुँजीवाद हाबी भयो त्यसको प्रभाव प्रत्यक्ष रूपमा विद्यार्थी सङ्गठन र विद्यार्थीहरूमा परेको नेत्र विक्रम चन्द ‘विप्लव’ निकट अखिल समाजवादीका अध्यक्ष नरेन्द्र विश्वकर्माको भनाइ छ । उनका अनुसार विद्यार्थी आन्दोलनले सही दिशा लिन नसकेको, क्याम्पसहरूमा ताला लागेको, तोडफोड गरिएको छ, आफूले जितेको ठाउँमा गुन्डागर्दी गर्ने, भ्रष्टाचार गर्ने अखडा बनाउने जस्ता कामहरू स्ववियूबाट हुने गरेको बताए । उनले भने, ‘खराबीको विरुद्धमा खडा भएको संस्था हो स्ववियू वा आफ्नो अधिकारको पक्षमा लड्ने संस्था हो । तर पछिल्लो समय नेपालमा जसरी राजनीति दलालीकरण भएको छ, दलाल पुँजीवाद हाबी भएको छ त्यसको प्रभाव प्रत्यक्ष रूपमा विद्यार्थी सङ्गठन र विद्यार्थीहरूमा परेको छ । विद्यार्थी आन्दोलनले पनि सही दिशा लिन सकेको छैन । यति बेला धेरै क्याम्पसहरूमा ताला लागेको छ, तोडफोड गरिएको छ, आफूले जितेको ठाउँमा गुन्डागर्दी गर्ने, भ्रष्टाचार गर्ने अखडा बनी रहेका छन् ।’ यसको साथै, कति ठाउँमा विद्यार्थीहरूलाई सानैदेखि गलत दिशामा लगाउने ठाउँ पनि स्ववियू बनेको भन्दै यसलाई सुधार गर्नुपर्ने र समग्र विद्यार्थी आन्दोलनलाई दलाल पुँजीवादी राजनीतिको प्रभावबाट बाहिर निकाल्नुपर्ने अवस्था आएको पनि उनको भनाई छ । उनले भने, ‘स्ववियु कति ठाउँमा विद्यार्थीहरूलाई सानैदेखि गलत दिशामा लगाउने ठाउँ बनिरहेका छन् । स्ववियूले सही तरिकाले काम गरेको छ कि छैन वा यसको क्षेत्राधिकार पुगेको छ कि छैन भनेर हामीले नयाँ तरिकाले बहस गरिरहेका छौ ।’ त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा ठुलो, पुरानो र करिब ८० प्रतिशत उच्च शिक्षाका विद्यार्थीहरू अध्ययन गर्ने विश्वविद्यालय चरम सङ्कटमा परेको हुनाले विद्यार्थीहरूको अधिकार र त्रिभुवन विश्वविद्यालयको सुधारको एजेन्डासहित अखिल समाजवादीका स्ववियू निर्वाचनमा पूर्ण रूपमा लागेको पनि उनको भनाई छ । चैत्र ५ गते हुने स्ववियूको चुनावमा अखिल समाजवादी देशैभर त्रिभुवन विश्व विद्यालय अन्तर्गतका क्याम्पसहरूमा स्ववियुको चुनावमा होमिएको छ, करिब २ सय वटा क्याम्पसमा सङ्गठन दर्ता भएको छ भने १ सयभन्दा बढी क्याम्पसहरूमा एकल, संयुक्त र प्यानलहरूसहित निर्वाचनमा आएको छ । यता, निर्वाचनको पूर्व सन्ध्यामा तालाबन्दी गर्ने प्रतिस्पर्धा नै चलिरहेको छ । सङ्गठनभित्रको आन्तरिक विवाद, विद्यार्थी भर्ना प्रक्रियामा असन्तुष्टि, उम्मेदवार मनोनयनमा विवाद जस्ता कारणले विद्यार्थी सङ्गठनहरू तालाबन्दीमा उत्रिएका हुन् । काठमाडौं उपत्यकाभित्रका पद्मकन्या, त्रिचन्द्र, सङ्करदेवलगायतका देशभरका डेढ दर्जन बढी मुख्य क्याम्पसहरूमा तालाबन्दी गरिएको छ ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार