मोरङ । बिहीबार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै जिल्लामा निर्वाचन भएका सबै क्याम्पसले नयाँ नेतृत्व प्राप्त गरेको छ ।
मोरङको बेलबारी बहुमुखी क्याम्पसमा बाहेक जिल्लाका सबै क्याम्पसले स्ववीयूमा नयाँ नेतृत्व प्राप्त गरेको हो । बेलबारीमा भने नेपाल विद्यार्थी संघको विवादका कारण निर्वाचन हुन सकेको छैन र निर्वाचन समितिले नै राजीनामा दिएपछि निर्वाचन प्रक्रिया नै अन्योलमा परेको छ ।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य समेत समेत रहेका विद्यार्थी नेता निश्चल घिमिरेका अनुसार बेलबारीमा नयाँ निर्वाचन समिति गठन गरेर निर्वाचन गराउने तयारी भइरहेको छ ।
नेपाली कांग्रेसको भातृ सङ्गठन समेत रहेको नेपाल विद्यार्थी संघले जिल्लामा रहेका उर्लाबारी बहुमुखी क्याम्पस, पथरी बहुमुखी क्याम्पस र लेटाङ बहुमुखी क्याम्पसमा स्ववियूको नेतृत्व प्राप्त गरेको छ । भने अन्य क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार पराजित बन्न पुगेका छन् ।
जसअन्तर्गत उर्लाबारी बहुमुखी क्याम्पसमा केशर थुलुङ, पथरी बहुमुखी क्याम्पसमा पोषण आचार्य र लेटाङ बहुमुखी क्याम्पसमा लेखनाथ दाहालले स्ववियू सभापतिको नेतृत्व गर्ने छन् ।
जिल्लाको समग्र परिणाम अनुसार नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) पहिलो सङ्गठन भएको छ ।
जिल्लामा पूर्वको सबैभन्दा धेरै विद्यार्थी भएको त्रिविको आङ्गिक क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर सहित क्रान्तिकारीले पाँच वटा क्याम्पसमा स्ववियूको नेतृत्व गर्ने छ ।
आङ्गिक क्याम्पस नै रहेका स्नातकोत्तर (डिग्री) र विराटनगर नर्सिङ क्याम्पसको स्ववियू सभापतिमा क्रमशः प्रितम साह र रोहितकुमार ताजपुरिया निर्वाचित भएका छन् ।
यसका अलावा कानेपोखरीको रमाइलो बहुमुखी क्याम्पस र मिक्लाजुङको मिक्लाजुङ क्याम्पसको सभापति पनि क्रान्तिकारीले बाजी मारेको छ ।
रमाइलो बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका अनिष कार्की, मिक्लाजुङ क्याम्पसमा क्रान्तिकारीका सुजन घिमिरेले स्ववियुको नेतृत्व गर्ने छन् ।
यस्तै नेकपा एमालेको भातृ सङ्गठन अनेरास्ववियु भने तेस्रो स्थानमा सीमित भएको छ । अनेरास्ववियुले जिल्लामा रहेको सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी र केराबारीस्थित खदम क्याम्पसको सभापति गरी दुई क्याम्पसको नेतृत्व गर्ने मौका पाएको हो ।
जसअन्तर्गत सुकुनामा एलिस ओझा र खदम क्याम्पसमा संगम कन्दङ्वाले अनेरास्ववियुको तर्फबाट नेतृत्व गर्ने छन् ।
सुकुनामा वामपन्थीको अपराजित यात्रा, नेविसंघको इतिहास कायम
जिल्लाको मध्य भेगमा रहेको सुकुना बहुमुखी क्याम्पसमा भने वामपन्थी उम्मेदवारले आफ्नो अपराजित यात्रालाई कायमै गरेका छन् । निर्वाचन भएयता यस क्याम्पसमा वामपन्थी उम्मेदवार बाहेक अन्य नेतृत्वमा आउन पाएका छैनन् ।
यस पटक पनि यहाँ निर्वाचित भएका एलिस ओझाले नेविसंघका उम्मेदवार विजय ओझालाई पराजित गर्दै जित हासिल गरेका हुन् । सभापतिमा निर्वाचित एलिस एमाले मोरङको अध्यक्ष पदमा भरखरै पराजित भएका नेता तथा पूर्व सांसद राजकुमार ओझाका छोरा समेत हुन् ।
एलिसले सभापति जितेको स्ववियुको तीन कार्यकाल उनका बुबा राजकुमारले चलाएका थिए । २०४९ को निर्वाचनमा राजकुमार स्ववियूका उपसभापति थिए । २०५१ र २०५३ मा पनि उनी स्ववियू सभापतिमा निर्वाचित भएका हुन् । सकुनामा त्यसयता निवर्तमान हुँदै गरेका सन्तोष लिम्बुसम्म नै वामपन्थी उम्मेदवारले नै जितिरहेका छन् । र त्यो निरन्तरता एलिसले पनि कायम गरेका छन् ।
यही सकुुनामा नेपाल विद्यार्थी संघले पनि आफ्नो इतिहास बनाएको छ । अहिलेसम्म भएका निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्षमध्ये कुनै पदमा पनि निर्वाचित नभएकोमा नेविसंघकी उम्मेदवार सविना थापा भने कोषाध्यक्षमा निर्वाचित भएकी छिन् ।
नेविसंघका केन्द्रीय सदस्य घिमिरे भन्छन्,‘यो हाम्रो एतिँहासिक जित हो । पाँच वटा वामपन्थी दलको गठबन्धनका बावजुत पनि कोषाध्यक्ष जित्नु आफैँमा नेविसंघको जित हो । अर्कोतर्फ समानुपातिक मतमा नेविसंघ पहिलो हुनु भनेको नै हाम्रो सफलता हो ।’
घिमिरेले आगामी स्ववियूमा नेविसंघलाई नेतृत्व स्थापित गर्न कुनै शक्तिले नछेक्ने दाबी समेत गरेका छन् ।
जिल्लामा उत्साहित क्रान्तिकारी
पाँच क्याम्पसको सभापति जितेर पहिलो बनेको क्रान्तिकारी भने मोरङ जिल्लामा उत्साहित देखिएको छ । महेन्द्र मोरङमा यसअघि २०६५ सालमा जितेपछि पुनः आफ्नो विरासत फर्काएको भन्दै अहिले चर्चाका विषय समेत बनेको छ ।
माउ पाटी रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको परिणामले माओवादीको अभियानमा युवाहरूको साथ रहेको पुष्टि गरेको बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ । कयौँ क्याम्पसमा सत्ता गठबन्धन समर्थित विद्यार्थी संगठनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ । विजयी सबै विद्यार्थी साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’
अनेरास्ववियु नेता भन्छन् ‘मोरङको सबै जिम्मेवारी केन्द्रीय कमिटीले लिनुपर्दछ’
यसअघि ४ क्याम्पसमा सभापति जितेको अनेरास्ववियु दुईमा सीमित भएपछि यस संगठनमा विवाद उत्पन्न भएको छ । कोशी प्रदेशका सचिव सन्तोष घिमिरे केन्द्रको अनावश्यक हस्तक्षेपका कारण मोरङमा दुई क्याम्पसमा सीमित हुनुपरेको उल्लेख गरे ।
प्रदेश खबरसँगको कुराकानीमा उनले भने, ‘निर्वाचनको समयमा जसरी केन्द्रीय कमिटीले यहाँको नेतृत्व हटाएर सचिवको नेतृत्वमा सङ्गठन बनायो र अहिले यो अवस्था आएको हो ।’
सकुना जस्तो अनेरास्ववियुको किल्लामा समेत समानुपातिक मतमा नेविसंघपछि दोस्रो स्थानमा सीमित हुनुपरेको उल्लेख गरेका घिमिरेले यसको सम्पूर्ण जिम्मेवारी केन्द्रीय अध्यक्ष र कमिटीले लिनुपर्ने समेत बताए ।
प्रतिक्रिया
लेखकको बारेमा
खेमराज सापकाेटा
सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया