सौन्दर्यकर्मी श्रमिकहरूप्रति सरकार अनुदार

विहीबार, ०७ चैत्र २०८१
धरान : मजदुर नेता भीमज्वाला राईले सौन्दर्यकर्मीमा क्रियाशील श्रमिक महिलाहरूप्रति तीन तहकै सरकार अनुदार बनेका कारण महिलाहरू सामाजिक सुरक्षा योजनाबाट वञ्चित हुनुपरेको बताएका छन् । जिफन्टको प्रयासमा २०७४ सालमै सामाजिक सुरक्षा ऐन जारी भई अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकहरूलाई समेट्ने गरी कार्यविधि समेत जारी गरिसकिएको भए पनि सौन्दर्यकर्मीमा कार्यरत स्वरोजगार तथा श्रमिकहरूलाई सामाजिक सुरक्षा योजनामा नसमेटिएको राईको भनाई छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको १६ औँ स्थापना दिवसको अवसरमा धरान नगर कमिटी धरानमा गरेको अभिमुखीकरण कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष राईले सरकारका प्रमुखहरू काम भन्दा स्टन्टमै रमाइरहेकाले ऐन कार्यान्वयन नभएको र मजदुरहरू सामाजिक सुरक्षाको दायराबाट वञ्चित हुनु परेको बताए । श्रमिकहरूको जीवनमा आइपर्ने सङ्कटको समाधान सामाजिक सुरक्षा ऐन कार्यान्वयनका लागि स्थानीय तहमा श्रम डेस्क स्थापना गरी स्थानीय तहमै कानुन निर्माण गर्नुपर्ने हुन्छ तर यस विषयमा स्थानीय सरकार प्रमुख गैर जिम्मेवार र कानुन कार्यान्वयनमा अनुदार बन्दा श्रमिकहरू मारमा परेको उनको भनाई छ । कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियनका केन्द्रीय सदस्य गंगा तामाङले सौन्दर्यकर्मीहरूको पेसागत हक, हित र अधिकारका लागि २०६५ सालमा सङ्गठनको स्थापना भएको बताइन् । त्यस्तै युनियनका कोशी प्रदेश आर्थिक सचिव अमिता पोखरेलले युनियनको तर्फबाट सिपमूलक तालिमहरूको व्यवस्था गर्दै पेसामा पारंगत बनाउने काम गरिरहेको उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार