‘नेपाली भेषभुषा हाम्रो बोली, ढाकाको सारी ढाकाकै चोली’ भन्ने नारासहित ढाका महोत्सव सुरु

विहीबार, ०७ चैत्र २०८१
विराटनगर : विराटनगरमा ३ दिने ढाका महोत्सव बिहीबार (आज) देखि सुरु भएको छ । ‘नेपाली भेषभुषा हाम्रो बोली, ढाकाको सारी ढाकाकै चोली’ भन्ने मूल नारासहित स्वदेशी उत्पादनको प्रवर्धन गर्नका लागि ढाका महोत्सवको आयोजना गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको महिला उद्यम समितिले आयोजना गरेको महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम बनाएर आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेटमार्फत प्रदेशमा भएका ढाका उद्योगलाई अघि बढाउने गरी बजेट विनियोजन गर्ने बताए । उनले त्यसका लागि ढाका उद्योगले भोग्नु परेका समस्या र चुनौतीका विषयमा सरकारलाई राय सुझाव दिन आग्रह समेत गरे । मुख्यमन्त्री कार्कीले भने, ‘यो साथ र सहयोग भोलीका दिनमा रहने छ । अहिले पनि प्रदेशको ३ वटा मन्त्रालय महोत्सवमा जोडिएको छ । ढाका उद्योगले भोग्नु परेका समस्यालाई प्रदेश सरकारले सम्बोधन गर्न सक्ने भए यहाँबाटै र केन्द्रबाट गर्नुपर्ने भए म त्यसका लागि केन्द्र पनि पहल गर्छु ।’ नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रत्येक वर्ष ढाका महोत्सवलाई निरन्तरता दिने बताए । महिला उद्यमीलाई नेपालसहित अन्तर्राष्ट्रिय बजार उपलब्ध गराएर स्थापित गराउने उद्देश्यका साथ ढाका महोत्सवको आयोजना गरिएको राउतको भनाई छ । महोत्सवमा ढाका कपडाको प्रदर्शनी, फेशन सो, व्यापार तथा लगानी प्रवद्र्धन, व्यावसायिक अवसरबारे छलफल, संवाद कार्यक्रम, ढाका बुनाइ तथा तान बुन्ने प्रतियोगिता हुनेछ । महोत्सवमा कोशी प्रदेशको तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, सङ्खुवासभालगायतको क्षेत्रमा ढाका उद्योग रहेका छन् । ढाका महोत्सवमा १४ जिल्लाको २६ वटा स्टल रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार