महेन्द्र मोरङको स्ववियु निर्वाचन : नेविसंघमा संस्थापन र इतरको लडाइँ, क्रान्तिकारीले हत्यायो नेतृत्व

शुक्रबार, ०८ चैत्र २०८१
विराटनगर : विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले विद्यार्थी राजनीतिको इतिहास बोकेको छ । विद्यार्थी राजनीतिको गर्विलो इतिहास बोकेर दर्जनौं नेता जन्माएको महेन्द्र मोरङलाई नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नो किल्ला मान्दै आएको थियो । तर, भर्खरै सम्पन्न स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन)बाट नेविसंघको किल्ला भत्किएको छ । निर्वाचन परिणाम नेविसंघले सोचेभन्दा फरक आयो । नेविसंघभित्रको लडाइँको फाइदा नेकपा (माओवादी केन्द्र)को भ्रातृसंस्था अखिल क्रान्तिकारीले उठायो । क्रान्तिकारीले स्ववियु सभापति जितेर नेतृत्व हत्याउँदा नेविसंघ निकटतम प्रतिद्वन्द्वीमा खुम्चियो । बिहीबार बिहान मतगणना सम्पन्न हुँदा क्रान्तिकारीका उम्मेदवार रोहित यादव स्ववियु सभापति निर्वाचित भए । स्ववियुमा क्रान्तिकारी विजयी हुनुको पछाडि नेविसंघभित्रको आन्तरिक द्वन्द्व र लडाइँ नै रहेको विश्लेषण गरिएको छ । आन्तरिक द्वन्द्व व्यवस्थापन नगरिकन चुनावमा होमिएको नेविसंघ अन्ततः स्ववियुको नेतृत्व क्रान्तिकारीलाई सुम्पिन बाध्य भयो । स्ववियु चुनावअघि नेविसंघभित्र कांग्रेस सभापति शेरबहादुर देउवा अर्थात संस्थापन र नेता शेखर कोइराला अर्थात संस्थापनइतर पक्षबीचको विवाद छताछुल्ल भयो । दुई पक्षबीचको विवाद कुटाकुट, झडप र तोडफोडमा मात्रै सीमित रहेन । सभापतिको उम्मेदवारीसम्म पुग्यो । सभापतिमा सात जनाको उम्मेदवारी परेकोमा नेविसंघकै दुई जना थिए । संस्थापनबाट प्रज्वल विष्ट (हाक्कु) र इतर पक्षबाट योगदाज दाहालको उम्मेदवारी परेको थियो । निर्वाचन समितिले विष्टलाई मान्यता दियो । नेविसंघका केन्द्रीय सदस्यसमेत रहेका दाहालले स्वतन्त्रको मान्यता पाए । विष्ट संस्थापन र दाहाल इतर पक्षबाट उठाइएका उम्मेदवार थिए । विद्यार्थी राजनीतिको उद्गमस्थल महेन्द्र मोरङको स्ववियु सभापतिमा एउटै विद्यार्थी संगठनबाट दुई जनाले उम्मेदवारी दिएको फाइदा क्रान्तिकारीले उठायो । क्रान्तिकारीका यादव १ हजार १ सय १८ मतसहित स्ववियु सभापति निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका विष्ट १ हजार ७५ मतमा रोकिए । यादव र विष्टबीचको मतान्तर ४३ छ । तर, नेविसंघबाटै उम्मेदवारी दिएका दाहालले ६० मत पाए । प्राप्त मतको अवस्था हेर्दा एक जनाको मात्रै उम्मेदवारी परेको भए नेविसंघका उम्मेदवार १७ मतले विजयी हुने देखिन्छ । नेविसंघप्रति आस्था राख्ने तर, आन्तरिक लडाइँ नरुचाएका कतिपय विद्यार्थीले अरु नै उम्मेदवारलाई भोट दिएको चर्चासमेत छ । स्ववियुको अध्यक्षमा उम्मेदवारी दिएका नेकपा (एमाले)को भ्रातृसंस्था अनेरास्ववियुका अनिष बोगटी २ सय ३२ मतसहित तेस्रो स्थानमा सीमित हुन पुगे । अनेरास्ववियु (क्रान्तिकारी) बहुमतकी अनिषा राईले ३१, विद्यार्थी जनमत संघ मोरङका रूपेश सिंहले ३० र प्राज्ञिक विद्यार्थी परिषद् नेपालका विवश कटुवालले २० मत ल्याए । अर्कोतर्फ अखिल क्रान्तिकारीले सभापतिसहित एक जना सदस्य जितेको छ । सचिव, कोषाध्यक्ष र सदस्यसहित नौ जना नेविसंघका निर्वाचित भएका छन् । यसले पनि महेन्द्र मोरङमा नेविसंघ मजवुत थियो भन्ने देखाउँछ । तर, अध्यक्षमा दुई जनाको उम्मेदवारी परेपछि मत बाँडियो । आन्तरिक विवाद मिलाउन नसक्दा स्ववियुको नेतृत्व क्रान्तिकारीको पोल्टामा पुग्यो । सचिवमा नेविसंघकी सुदीक्षा थापामगर ७ सय ४१ मतसहित विजयी भइन् । उनका निकटम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियन नेपालका राकेशकुमार यादवले ५ सय ८८ मत पाए । कोषाध्यक्षमा नेविसंघका रोशनकुमार पासवान विजयी भए । पासवानले ८ सय ९३ मत ल्याउँदा प्रतिस्पर्धी अखिल क्रान्तिकारीका राजिव यादवले ८ सय २७ मत पाए । सदस्यमा नेविसंघका मोहमद साइन, कौशलकुमार साह तेली, सुशान्त बस्नेत, नवीनबाबु तिवारी, रक्षक सुवेदी, एन्जिला काफ्ले र रामदत्तकुमार मेहता तथा क्रान्तिकारीका गौतमकुमार मण्डल निर्वाचित भएका छन् । निर्वाचनबाट प्राप्त समानुपातिक मतले पनि नेविसंघ बलियो रहेको पुष्टि हुन्छ । समानुपातिक निर्वाचन प्रणालीबाट नेविसंघलाई १ हजार १ सय ११ र अखिल क्रान्तिकारीलाई ८ सय ११ मत प्राप्त भएको छ । समानुपातिकमा नेविसंघभन्दा ३ सय मतले कमजोर रहेको क्रान्तिकारीले अन्ततः सभापति जितेर नेविसंघलाई जिल्ला पारिदियो । पार्टीभित्रको आन्तरिक विवादका कारण चुनावमा पराजय बेहोर्नु परेको नेविसंघका केन्द्रीय सदस्य अभिषेक भट्टराई बताउँछन् । महेन्द्र मोरङ कुनै समय नेता उत्पादन गर्ने थलोको रुपमा चर्चित थियो । यसअघि २०६५ सालमा अखिल क्रान्तिकारीबाट जयराम सुन्दास विजयी भएका थिए । त्यसबेला अनेरास्ववियुसँग तालमेल गरेर अघि बढेको क्रान्तिकारीले अहिलेको चुनाव भने एक्लै पार लगाएको हो । यसपटक एक्लै चुनाव जितेर इतिहास रचेको अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष एवं कोशी प्रदेशका चुनावी कमाण्डर अभिमन्यू यादवले बताए । महेन्द्र मोरङलाई २०६५ को अवस्थामा फर्काउन सक्नु ऐतिहासिक उपलब्धि भएको उनको भनाइ छ । स्ववियु सभापति जितेका यादव २०७९ सालमा पनि सभापतिका उम्मेदवार थिए । नेविसंघका जसवन्त पौडेलसँग पराजित भए । यसपटक भने पौडेलले नै उठाएका उम्मेदवारलाई निराश बनाउँदै उनले बाजी मारेका छन् । चुनावको विषयलाई लिएर नेविसंघको दुई पक्षबीच झडप नै भयो । संस्थापन र इतर पक्षले महेन्द्र मोरङको चुनावलाई प्रतिष्ठाको विषय बनाए । संस्थापन पक्ष निकटतम प्रतिद्वन्द्वी बन्दा इतर पक्षले लज्जास्पद भोट ल्याएको छ । निर्वाचन परिणामले डा. शेखर कोइरालालाई गृहनगरमा धक्का लागेको विश्लेषण गर्न थालिएको छ । महेन्द्र मोरङमा ५ हजार ९ सय ८४ मतदाता थिए । मंगलबार सम्पन्न निर्वाचनमा २ हजार ६ सय ३१ मत खसेको थियो । यसपटकको स्ववियु निर्वाचनमा अपेक्षाभन्दा कम मतदान भएको छ । ५५ प्रतिशतभन्दा बढी मत खस्ने गरेको विगत छ । यसपटकको निर्वाचनमा ४३ दशमलव ९३ प्रतिशत मात्रै मत खसेको हो । मोरङमा क्रान्तिकारी अगाडि विराटनगरको महेन्द्र मोरङसहित मोरङमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त र आंगिक गरेर १० वटा क्याम्पसमा चुनाव भएको थियो । जसमा चुनाव जितेर अखिल क्रान्तिकारी पहिलो भएको छ । क्रान्तिकारीले ३ वटा आंगिक क्याम्पससहित ५ वटामा विजय हासिल गरेको छ । ३ वटामा नेविसंघ र २ वटामा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । महेन्द्र मोरङसँगै अखिल क्रान्तिकारीले त्रिविको आंगिक क्याम्पस विराटनगरस्थित डिग्री (स्नातकोत्तर) क्याम्पस, नर्सिङ क्याम्पस, कानेपोखरीको रमाइलो बहुमुखी क्याम्पस र मिक्लाजुङको मिक्लाजुङ क्याम्पसमा सभापति जितेको छ । अखिल क्रान्तिकारीबाट उम्मेदवारी दिएकामध्ये सभापतिमा रमाइलो बहुमुखी क्याम्पसमा अनिष कार्की, मिक्लाजुङमा सुजन घिमिरे, स्नातकोत्तरमा प्रितम साह र नर्सिङ क्याम्पसमा रोहितकुमार ताजपुरिया निर्वाचित भए । मिक्लाजुङ र स्नातकोत्तर क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलै विजयी भएको हो । उर्लाबारी क्याम्पसमा नेविसंघका पोषण आचार्य, पथरी बहुमुखी क्याम्पसमा नेविसंघका केशर राई तथा लेटाङ क्याम्पसमा नेविसंघका लेखनाथ दाहाल सभापति निर्वाचित भए । उर्लाबारी र पथरी बहुमुखी क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको हो । केराबारीस्थित खदम क्याम्पसको सभापतिमा अनेरास्ववियुका संगम कन्दङ्वा र सुकुना क्याम्पसको सभापतिमा अनेरास्ववियु गठबन्धनका एलिस ओझा विजयी भएका छन् । बेलबारी क्याम्पसको चुनाव भने विवादका कारण स्थगित भएको छ । बाबुले ‘ह्याट्रिक’ गरेको क्याम्पसमा छोरा सभापति मोरङको सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका एलिस ओझा निर्वाचित भएका छन् । त्यहाँ कम्युनिष्ट धारका सबै विद्यार्थी संगठनले गठबन्धन गरेर एलिसलाई उम्मेदवार बनाएका थिए । उनी ९ सय ८५ मतसहित विजयी हुँदा नेविसंघका उम्मेदवार विजय ओझा ६ सय ८६ मतमा रोकिए । तर, यो क्याम्पसको स्ववियु निर्वाचनमा गजबको संयोग जोडिएको छ । सभापतिमा निर्वाचित एलिस ओझा नेकपा (एमाले) मोरङका नेता तथा कोशी प्रदेशका पूर्वसांसद राजकुमार ओझाका छोरा हुन् । एलिसले सभापति जितेको स्ववियुको ३ कार्यकाल उनका बुवा राजकुमारले चलाएका थिए । सुकुना क्याम्पसको स्ववियुमा राजकुमारले ‘ह्याट्रिक’ गरेको विगत छ । उनले २०४९ सालको निर्वाचनमा स्ववियु उपसभापति जितेका थिए । राजकुमार २०५१ र २०५३ सालमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए । गत मंगलबार सम्पन्न निर्वाचनमा उनका छोरा एलिस स्वविय सभापति निर्वाचित भएका हुन् । बाबुले स्ववियुमा ‘ह्याट्रिक’ गरेको क्याम्पसमा छोरा स्ववियु सभापति निर्वाचित भए । २०४९ सालयता सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा वामपन्थी उम्मेदवारले जितिरहेको क्याम्पसले प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार