काठमाडौं : जेलेस्पीजङ्घ कार्कीको निर्णायक गोलसँगै नेपालले सिङ्गापुर विरुद्ध ३६ वर्षपछि जित निकालेको छ ।
सिङ्गापुर नेसनल स्टेडियममा आज सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले सिङ्गापुरमाथी १–० को जित निकालेको हो । नेपालको जितमा जेलेस्पीले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक गोल बन्यो । उनले १२औँ मिनेटमा मनिष डाँगीको क्रसमा गोल गरेका हुन् ।
सिङ्गापुर विरुद्ध नेपालले गरेको यो नै पहिलो गोल हो । पछिल्लो पटक नेपाल र सिङ्गापुर सन् १९८९ मा आमुन्नेसामुन्ने भएका थिए । सन् १९८९ मा फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र सिङ्गापुरबीच दुई खेल भएको थियो । जसमा पहिलो खेलमा नेपाल ७–० र दोस्रो खेलमा ३–० ले पराजित भएको थियो ।
नेपालले पहिलो पटक १९८२ को किङ्ग्स कपमा सिङ्गापुरसँग पहिलो पटक खेलेको थियो । त्यतिबेला नेपाल २–० ले पराजित भयो ।
त्यसपछि सन् १९८६ मा दशरथ रङ्गशालामा आयोजित पञ्चायत सिल्भर जुबिली कपमा नेपालले सिङ्गापुलाई गोलरहित बराबरीमा रोकेको थियो ।
योसँगै एएफसी एसियन कप छनोट २०२७ खेल्न नेपाल मलेसिया प्रस्थान गर्नेछ । मार्च २५ मा नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।
यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले ऐतिहासिक जित हासिल गरेकामा नेपाली फुटबलका राष्ट्रिय खेलाडीलाई बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जालमा फुटबल खेलाडीको तस्बिर राख्दै सिङ्गापुरविरूद्धको खेलमा नेपालले विजय हासिल गरेकामा बधाई ज्ञापन गरेका हुन् ।
उनले लेखेका छन्, “बधाई नेपाली !! नेपालले सिङ्गापुरविरूद्ध ऐतिहासिक जित हात पारेको छ ।”
प्रतिक्रिया
लेखकको बारेमा
रासस
राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया