इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका १७ लविपुरस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
फागुन ६ गते बुधवार राति करिब ११ बजे इटहरीबाट पकलीतर्फ जाँदै गरेको प्र.१-०२-०५४ प.१४५९ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका अन्दाजी ३५–३७ वर्षका पुरुषलाई ठक्कर दिएको थियो।
पुरुषको टाउको पछाडि गहिरो चोट लागेका, बायाँ खुट्टामा गम्भीर असर परेको र कानबाट रक्तस्राव भइरहेको अवस्थामा उनलाई तत्कालै विराट मेडिकल कलेज टिचिङ अस्पताल, बुढिगंगा पठाइएको थियो।
गम्भीर घाइते पुरुषको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनलाई विराटनगरको न्युरो अस्पताल स्थानान्तरण गरिएको थियो। सोही अस्पतालमा उपचारकै क्रममा फागुन ९ गते बिहान ६:५० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने मोटरसाइकल चालक सुनसरी वराहक्षेत्र ७ का २९ वर्षीय कार्तिक चन्द्रवंशी र पछाडि सवार २६ वर्षीय सञ्जय श्रेष्ठ सामान्य घाइते भएका छन्।
चन्द्रवंशीको देब्रे हात, टाउको, दायाँ आँखा, चिउँडोमा चोट लागेको छ भने सञ्जय श्रेष्ठको बायाँ आँखा र दुवै हातमा सामान्य चोट लागेको उनीहरूको उपचार लविपुरस्थित सान्वी सिटी अस्पतालमा भएको थियो भने मोटरसाइकल चालक चन्द्रवंशीलाई थप उपचारका लागि फागुन ७ गते बेलुका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।
मृतक पुरुषको हाल सम्म परिचय नखुलेको प्रहरी निरीक्षक दहालले बताए । 'हामीले मृतको पहिचानको लागी प्रयास गरिरहेका छौ तर अहिले सम्म पहिचान खुलेको छैन' उनले भने ।
दुर्घटनामा संलग्न मोटरसाइकललाई प्रहरी नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया