इटहरीमा डिउटीबाट फर्किँदै गरेका सुरक्षा गार्डको अज्ञात सवारीको ठक्करबाट मृत्यु

आइतबार, १० चैत्र २०८१
इटहरी : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इटहरी–५ मा अज्ञात सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। आइतबार बिहान ३ः३५ बजे इटहरीस्थित राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालयबाट करिब १०० मिटर पश्चिमतर्फ ३९ वर्षीय साइकल यात्री गणेश पुरीलाई अज्ञात सवारी साधनले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका पुरीलाई उपचारका लागि तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर, उपचारको क्रममा बिहान ४ः४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। इटहरी २० तरहरा बस्दै आएका ३९ वर्षीय पुरी इटहरीको एक कम्पनीमा सुरक्षा गार्डको रूपमा कार्यरत रहेको उनका दाइ विक्रम पुरीले जानकारी दिए। 'भाइ डिउटीबाट फर्किँदै गर्दा अज्ञात सवारी साधनले ठक्कर दिएछ दिउसो फ्रेस हाउस चलाउने र राती महेन्द्र पेट्रोल पम्पमा गार्डको रूपमा काम गर्थ्यो', उनले भने। मृतक पुरीको श्रीमती र २ जना साना छोरीहरू रहेका छन्। इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीका अनुसार ठक्कर दिने सवारी साधनको पहिचान भइसकेको छैन। प्रहरीले दोषी सवारी साधन र चालकको खोजी कार्य तीव्र रूपमा अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार