दुर्गा प्रसाईं अझै फरार, प्रहरीको खोजी जारी

शनिबार, १६ चैत्र २०८१
काठमाडौँ : काठमाडौँको तीनकुने क्षेत्रमा शुक्रवार भएको हिंसात्मक प्रदर्शनपछि प्रहरीले सक्रिय रूपमा अनुसन्धान गरिरहेको छ। प्रदर्शनका प्रमुख योजनाकार मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अझै फरार छन् भने सुरक्षाकर्मीहरूले उनको खोजीलाई तीव्र बनाएका छन्। शुक्रवार निषेधित क्षेत्रमा जबरजस्ती प्रवेश गर्न खोज्दा अवस्था तनावग्रस्त बनेको थियो। प्रदर्शनको क्रममा दुई जनाको मृत्यु भएको छ । प्रदर्शनकारीहरूले १४ ठाउँमा आगजनी गर्नुका साथै १५ वटा सरकारी तथा निजी गाडी जलाएका थिए। यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर जबरा लगायत पाँच जनालाई शुक्रवार राति नै पक्राउ गरेको छ। तर, आन्दोलनको अगुवाइ गरेका प्रसाईँ भने मोबाइल अफ गरेर फरार भएका छन्। यसैबिच, धार्मिक अभियन्ता तथा सामाजिक सञ्जालमा चर्चित ज्योतिष पुष्कर खतिवडालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई शुक्रवार इमाडोलस्थित घरबाट पक्राउ गरिएको हो। शुक्रवारको घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रशासनले अवस्था नियन्त्रणमा लिन अपराह्नदेखि नै कर्फ्यु आदेश जारी गरेको थियो। प्रहरीले प्रदर्शनमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी कारबाही अघि बढाइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार