विराटनगर । समाचार सङ्कलनका क्रममा पत्रकारको हत्या भएको र सञ्चारमाध्यममा आक्रमण गरिएको घटनाको विरोध गर्दै विराटनगरमा पत्रकारले शनिवार प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको आयोजनामा पत्रकारले प्रदर्शन गरेका हुन् । राजावादीको प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण काठमाडौँमा पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।
भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएपछि जलेर शुक्रवार उनको मृत्यु भएको हो । घटनाको निन्दा गर्दै छानबिन र दोषीउपर कारबाहीको माग राखेर पत्रकार महासङ्घले प्रदर्शन गरेको हो ।
महासङ्घ मोरङको कार्यालयबाट सुरु भएको विरोध र्याली महेन्द्र चोक, महावीर चोक, मेन रोड हुँदै ट्राफिक चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
पत्रकार महासङ्घ मोरङका सचिव नेत्र पी अधिकारीका अनुसार प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्ने, पत्रकारका हत्यारालाई कारबाही गर्नुपर्ने, पीडित पत्रकारलाई क्षतिपूर्ति दिनुपर्ने, मिडिया हाउसमा आक्रमण बन्द गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर प्रदर्शन गरिएको हो ।
प्रदर्शनपछिको विरोध सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कमल रिमालले पत्रकार महासङ्घले पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर आन्दोलन सुरु गरेको जानकारी दिए । ‘पत्रकार महासङ्घ ७० औँ स्थापना दिवस मनाउने तयारीमा थियो । तर, सबै कार्यक्रम स्थगित गरेर आन्दोलनमा उत्रनुपर्ने अवस्था आयो,’ उनले भने ।
पत्रकार महासङ्घले मरिसकेको राजतन्त्र ब्युँताउनलाई समर्थन गर्न नसक्ने रिमालको भनाइ छ । उनले मृतक पत्रकार सुरेश रजकले न्याय नपाएसम्म आन्दोलन जारी रहने बताए । भने, ‘हजारौँ पत्रकार सुरेश बन्न तयार छन् । तर, आन्दोलन रोकिँदैन ।’
नेपाल पत्रकार महासङ्घ मोरङ अध्यक्ष सुशीला पाठकले एउटा श्रमजीवीलाई निर्मम तरिकाले मार्नु अति नै पीडादायी भएको बताइन् । ‘श्रमजीवीको पसिनाको मूल्य हामीलाई थाहा हुन्छ ।
अबको दिनमा कोही पनि सुरेश रजक बन्न नपरोस् । मिडियामाथिको आक्रमण सहन सक्दैनौँ । सुरेशको न्यायका लागि लडिरहन्छौँ । आन्दोलन निरन्तर अघि बढ्छ’ पाठकले भनिन् ।
पत्रकारको हत्या र मिडियामाथिको आक्रमणको विरोधमा पत्रकार महासङ्घको आह्वानमा शनिवार देशभर प्रदर्शन भएको छ । पत्रकार महासङ्घको टोलीले आक्रमणमा परेका सञ्चारमाध्यमको स्थलगत अनुगमनसमेत गरेको छ ।
पत्रकार महासङ्घको नेतृत्वमा गरिएको प्रदर्शनमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज), सञ्चारीका समूह, मधेसी पत्रकार सङ्घ, थारू पत्रकार सङ्घ नेपाललगायत पत्रकार सम्बद्ध सङ्घ संस्थामा आबद्ध पत्रकारहरू सहभागी भएका थिए । पत्रकार रजकको परिवारलाई उचित क्षतिपूर्ति र न्याय दिनुपर्ने माग पत्रकारका नेताहरूले राखेका छन् ।
प्रतिक्रिया