पॉचथर : पॉचथरको फालेलुङमा आयोजित जिल्लाको सबैभन्दा लामो म्याराथन प्रतियोगितामा ताप्लेजुङका धावक रमेश तावाहाङ पहिलो स्थानमा रहन सफल भए।
शनिबार सम्पन्न यस प्रतियोगितामा उनले ४५ प्रतिस्पर्धीलाई पछि पार्दै ४४ किलोमिटरको दूरी ३ घण्टा २२ मिनेट ५८ सेकेण्डमा पूरा गरे।
विशाल राई दोस्रो स्थानमा रहे भने त्रिभुवन आर्मी क्लबका राजन मेयोङवा (लिम्बू) तेस्रो स्थानमा पुगे।
विशालले ३ घण्टा २९ मिनेट र राजनले ३ घण्टा ३८ मिनेट ३० सेकेण्डमा निर्धारित दूरी पूरा गरेका थिए।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि परिवर्तन” भन्ने नारा सहित परिवर्तन संघ फालेलुङले ४४ किलोमिटर लामो म्याराथन आयोजना गरेको हो। यो दौड जिल्लामा भएको सबैभन्दा लामो दूरी र उच्च पुरस्कार राशीको प्रतियोगिता थियो। पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५५ हजार ५५५, २७हजार २२७ र १२ हजार २१२ रुपैया पुरस्कार प्रदान गरिएको छ।
दौड फालेलुङ ३ नाम्लुवा भञ्ज्याङदेखि शुरु भएर फालेलुङ ४ को फालौट (गोर्खेपानी) मा पुगेर पुनः नाम्लुवा भञ्ज्याङमा फर्किएको थियो। यसरी धावकले ४४ किलोमिटरको दूरी पार गरेका हुन्।
यो म्याराथन प्रतियोगिता साहसिक खेलमार्फत पर्यटन प्रवर्धन गर्न र युवालाई लागु औषध दुव्र्यसनबाट टाढा रहन प्रेरित गर्नका लागि आयोजना गरिएको बताइएको छ।
प्रतियोगिता परिवर्तन संघको आयोजनामा सम्पन्न भएको हो र सह आयोजकको भूमिका हेभन्लि निर्माण पाथले निर्वाह गरेको थियो।
प्रतिक्रिया