शृङ्खलाबद्ध बम आतङ्क मच्चाउने ‘खगेन्द्र’, जो संसद भवनमा ड्रोन खसाल्ने धम्की दिन्थे

विहीबार, २१ चैत्र २०८१
विराटनगर : सुनसरी प्रहरीले इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि र बूढी खोला पुलनजिक बम राखेर आतङ्क सृजना गरेको आरोपमा बुधवार मात्रै २ जनालाई पक्राउ गर्यो । गत पुस १६ गते इटहरी उपमहानगरपालिका अगाडि तथा सुनसरी र मोरङ जोड्ने बूढी खोला पुलनजिक बम राखेको सूचना प्रहरीलाई आएको थियो । प्रहरीले खोजी गर्दा उपमहानगरको कार्यालय अगाडि आतङ्क सृजना गर्नका लागि ‘होक्स’ राखेको फेला परेको थियो । त्यसबेला प्रहरीलाई बम राखेको भन्दै सूचना दिने झापा कनकलाई नगरपालिका– ८ का ४६ वर्षीय सञ्जय भनिने खगेन्द्र खरेललाई प्रहरीले सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो । उनीसँगै लक्ष्मीदेवी थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । [caption id="attachment_96038" align="alignnone" width="1200"] पक्राउ परेका खरेल र लक्ष्मीदेवी थापा l[/caption] पुस १६ गते प्रहरीलाई बम राखेको सूचना दिएपछि खरेल भारत भागेका थिए । प्रहरीले खोजी गर्दा शङ्कास्पद वस्तु बम नभई आतङ्क सृजना गर्न राखिएको ‘होक्स’ रहेको पुष्टि भयो । प्रहरीको रेकर्डमा खरेल पटके अपराधी रहेको देखिन्छ । बम काण्डमा उनी यसअघि झापा र सुनसरीमा २ पटक पक्राउ परेर कारागार चलान भइसकेका छन् । पछिल्लो मुद्दामा भने उनी गत असोजमा मात्रै छुटेका प्रहरीको रेकर्डमा छ । पुसमा आतङ्क सृजना गरेपछि चैतमा पुनः पक्राउ परे । प्रहरी स्रोतका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले खरेललाई पक्राउ गरी सुनसरी प्रहरीको जिम्मा लगाएको हो । दुवै जनाविरुद्ध अनुसन्धान अघि बढाउन बिहीबार अदालतबाट ५ दिनको म्याद थप भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । यस्तो छ खरेलको आपराधिक रेकर्ड प्रहरीका अनुसार २०७८ चैत १४ गते इटहरी उपमहानगर– २ स्थित नवजागृति टोलमा बम विस्फोट हुँदा खरेल संलग्न थिए । त्यसबेला बम विस्फोट भएको घरमा हाल पक्राउ परेकी थापा डेरा बस्थिन् । त्यो बेला सुतली बम विस्फोट हुँदा रविन थापा र लमजुङका शेरजङ गुरुङ घाइते भएका थिए । विस्फोटमा घाइते भएका २ जनासहित सञ्जय भनिने खगेन्द्र खरेल र डेरावाल लक्ष्मीदेवी थापा पक्राउ परेका थिए । सो मुद्दामा कारागार चलान भएका खरेल २०८१ असोज दोस्रो साता छुटे । पुसमा पुनः आतङ्क सृजना गरे । खरेल पक्राउ परेको घटना त्यो नै पहिलो भने होइन । २०७६ वैशाखमा झापाको कनकाई नदीको पुलमा खरेलकै समूहले बम राखेको थियो । त्यसबेला गोर्खा जनमुक्ति पार्टीको नाममा राखेको बम प्रहरीले ‘डिस्पोज’ गर्यो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले खरेलसहित ५ जनालाई पक्राउ गरेको थियो । कनकाईमा बम आतङ्क सृजना गरेको अभियोगमा पक्राउ परेका उनी २ वर्ष ५ महिना जेल बसेर छुटे । २०७८ माघ ९ गते झापाको बिर्तामोडस्थित पश्चिम बस स्टेण्ड र १३ गते दमकस्थित शिवाना चर्चमा बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको थियो । सो घटनामा पनि खरेल संलग्न रहेको प्रहरी बताउँछ । अब को हुन् खरेल ? २०३४ साल वैशाख १७ गते ताप्लेजुङमा जन्मिएका खरेल बाबुआमासँगै भारत बस्थे । भारतमै पढेका र हुर्किएका खगेन्द्र सन् १९९७ मा भारतीय सेनामा भर्ना भएर केही वर्ष काम गरेका थिए । तर, बिचैमा उनले जागिर छाडेका थिए । भारतीय सेनामा आबद्ध हुँदा उनले बम बनाउन र हतियार चलाउन सिकेको प्रहरी स्रोतले बतायो । त्यसपछि उनी सन् २००८ मा नेपाल आए । डेढ वर्षपछि दुबई गएका खरेल ९ महिना बसेर नेपाल फर्किए । त्यसपछि उनी ‘ग्रेटर नेपाल’को अभियानमा सहभागी भए । सन् २०१३ मा अन्तर्राष्ट्रिय नापी विभागको गेटअगाडि बम विस्फोट गराएको घटनासमेत खरेलको संलग्नता थियो । पछिल्लो समय उनले हिमाल सुरक्षा परिषद् गठन गरेका थिए । गत पुसमा इटहरीमा बम आतङ्कपछि भारत भागेका उनले त्यसपछि नेपालका ३१ जिल्लामा बम राख्ने धम्की समेत दिए । उनको यो धम्कीले सुरक्षा संयन्त्रलाई सतर्क बनाएको थियो । जिल्लामा बम राख्ने धम्की पछि खरेलले संघीय संसद भवनमा ड्रोन खसाल्ने धम्की पनि दिए । ‘यो मान्छे प्रविधिमा पोख्त छ । ह्वाटसपमार्फत पार्लामेन्टमा हिमाल सुरक्षा परिषद्को झन्डासहित ड्रोन उडाउँछु भन्थ्यो । पटक–पटक आतङ्क सृजना गर्ने पटके हुन्,’ प्रहरी स्रोतले बतायो । यो पनि.... https://pradeskhabar.com/archives/79991

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार