इटहरीमा बम राखेको भन्दै आतङ्क फैलाउने २ जना पक्राउ

विहीबार, २१ चैत्र २०८१
इटहरी: पुस १६ गते इटहरीमा बम राखिएको भन्दै त्रास सिर्जना गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा कनकाई नगरपालिका ८ का ४६ वर्षीय सञ्जय भनिने खगेन्द्र खरेल र लक्ष्मीदेवी थापा रहेका छन्। प्रहरीका अनुसार उनीहरूले इटहरी उपमहानगरपालिका अगाडि र सुनसरी मोरङ जोड्ने बुढी खोला पुल नजिक बम राखेको हल्ला फैलाएका थिए। घटनापछि अनुसन्धान गर्दा ती शङ्कास्पद वस्तुहरू वास्तविक बम नभई त्रास सिर्जना गर्न बनाइएका नक्कली बम रहेको पुष्टि भएको थियो। घटनापछि खरेल भारततर्फ फरार भएका थिए भने लक्ष्मीदेवी थापा पनि लुकीछिपी बसेकी थिइन्। प्रहरीको खोजीपछि उनीहरूलाई भारतबाट पक्राउ गरी बुधबार राति सुनसरी ल्याइएको प्रहरीले जनाएको छ । यसअघि पनि खरेल विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीको भनाइ छ। उनी २०७६ सालमा झापाको कनकाई नदी पुलमा बम राखेको आरोपमा पक्राउ परेका थिए। त्यसपछि २०७८ सालमा झापाका चर्चहरूमा शङ्कास्पद वस्तु राखेको घटनामा समेत उनको संलग्नता देखिएको थियो। त्यस्तै, इटहरीको एक घरमा सुतली बम विस्फोट गराएको आरोपमा समेत उनी पक्राउ परेका थिए। जेलमुक्त भएपछि खरेल पुनः आपराधिक गतिविधिमा संलग्न भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राखेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार