विराटनगर : ठगी मुद्दाका १ जना थुनुवा सुनसरीको इटहरीबाट शुक्रवार दिउँसो फरार भएका छन् । तेह्रथुमबाट पक्राउ गरेर काठमाडौं लैजाँदै गरिएका सुनसरीको धरान उपमहानगरपालिका–१ घर भएका २५ वर्षीय धनबहादुर भुजेल इटहरीबाट फरार भएका हुन् ।
भुजेलसहित तेह्रथुमको लालीगुराँस नगरपालिका–७ का ३२ वर्षीय डम्बरबहादुर लिम्बूविरुद्ध तेह्रथुमकै इलाका प्रहरी कार्यालय वसन्तपुरले ठगी मुद्दा चलाएको थियो ।
तेह्रथुम प्रहरी प्रमुख डीएसपी लीलाराज लामिछानेका अनुसार भुजेल र लिम्बू मिलेर २ जनाको ८ लाख ५३ हजार रूपैयाँ ठगी गरेका थिए । १ जनाको ६ लाख ६७ हजार र अर्का १ जनाको १ लाख ८६ हजार रूपैयाँ ठगी गरेको पाइएको उनले बताए ।
पीडितलाई पैसा बुझाएर मेलमिलाप भएपछि सरकारी वकिल कार्यालयले दुवै जनाविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । तर, फागुन २७ गते भोजपुरबाट पक्राउ परेका ठगी मुद्दाका अभियुक्त भुजेलविरुद्धको अर्को मुद्दा काठमाडौंमा रहेको खुल्यो ।
आफन्तको जिम्माजमानीमा छाडिएका अभियुक्त भुजेललाई काठमाडौं अदालतमा उपस्थित गराउनुपर्ने भएपछि तेह्रथुमबाट प्रहरीले काठमाडौं लैजाँदै थियो ।
अदालतको नजरमा फरार अभियुक्त रहेका उनी काठमाडौं लैजाने क्रममा इटहरीबाट फरार भएको डीएसपी लामिछानेले बताए । उनका अनुसार काठमाडौं पुर्याएर साइबर ब्युरोको जिम्मा लगाउने तयारी थियो । असई नेत्रप्रसाद बास्तोला र हवलदार नवीनकुमार रायले भुजेललाई सार्वजनिक सवारीसाधनमा काठमाडौं लिएर गएका थिए ।
इटहरीबाट अर्को गाडी परिवर्तन गर्नुपर्ने थियो । इटहरीबाट रात्रि बसमा लैजाने तयारी थियो । गाडी परिवर्तन गर्ने क्रममा शौचालय जान्छु भन्दै प्रहरीलाई झुक्काएर भुजेल फरार भएको जानकारी डीएसपी लामिछानेले दिए ।
‘काठमाडौं लैजाँदै गरिएका थुनुवा प्रहरीको आँखा छलेर भागेका हुन्,’ उनले भने,‘कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय इटहरीलगायतका विभिन्न प्रहरी कार्यालयसँग समन्वय गरेर खोजी तीव्र पारिएको छ ।’
भुजेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा १ लाख ९० हजार बिगो माग दाबीसहित ठगी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
अनलाइनमार्फत ठगी गरेको आरोपमा साइबर ब्युरोले उनी विरुद्ध काठमाडौंमा मुद्दा चलाएको छ ।
प्रतिक्रिया