तीनकुने घटनाको छानबिन जारी छ - मानवअधिकार आयोग

शनिबार, २३ चैत्र २०८१
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले यही चैत १५ गते काठमाडौँको तीनकुने लगायतका स्थानमा घटेको घटनाको छानविन जारी रहेको जनाएको छ । आयोगले विभिन्न टोली बनाई घटनाको अनुगमन गरी तत्काल प्राप्त भएका जानकारीका आधारमा विज्ञप्तिमार्फत आफ्नो प्रारम्भिक धारणासमेत सार्वजनिक गरिसकेको स्पष्ट पारेको छ । उक्त घटनाका सन्दर्भमा मानव अधिकारको अवस्था र आयोगको भूमिकाका सन्दर्भमा सामाजिक सञ्जाल र केही समाचार माध्यममा आएका टीकाटिप्पणीप्रति आयोगको ध्यानाकर्षण भएको प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए । घटना घटेको दिन र त्यसपछि पनि आयोगले क्षति र मानवअधिकारको उल्लंघनका विषयलाई लिएर थप उजुरी र ज्ञापनपत्रसमेत लिएको बताएको छ । घटनाको गाम्भीर्यता र उजुरीसमेतलाई मध्यनजगर गरी आयोगले घटना भएकै दिनदेखि अनुसन्धान टोली परिचालन गरी छानविन/अनुसन्धान गरिरहेको प्रवक्ता पोखरेलको भनाइ छ । आयोगका सदस्य मनोज दुवाडी सम्मिलित टोलीले नजरबन्दमा राखिएको भनिएका संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई शुक्रबार भेटेको छ । त्यसैगरी प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाको उपचारको अवस्था बारे पनि टोलीले विभिन्न अस्पतालमा पुगी जानकारी लिएको छ । आयोगको छानविन एवम् अनुसन्धानकार्यलाई सहयोग पुर्याउनसम्बद्ध सबैलाई आग्रह गरेको प्रवक्ता पोखरेलले उल्लेख गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार