विराटनगर । सशस्त्र प्रहरी बलले मोरङमा काम गर्न थालेको २० वर्ष पुगेको छ । त्यस अवसरमा सशस्त्र प्रहरीले २० औं स्थापना दिवस शनिबार मनाएको छ ।
मोरङको बूढीगंगा गाउँपालिका रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनीले दिवसका अवसरमा विविध कार्यक्रम गरेको हो । गण परिसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथि सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी शम्भु सुवेदी थिए ।
कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगर र मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव विशिष्ट अतिथि थिए । कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी सुवेदीले राष्ट्रद्वारा निर्देशित गरिएका जिम्मेवारीहरुमा केन्द्रित रहँदै सशस्त्र प्रहरीले काम गरिरहेको बताए ।
\उनले सशस्त्र प्रहरी बलको संगठनले दिएको जिम्मेवारी अनुसार सांगाठनिक लक्ष्य हासिल गर्न सधैं संयमित भएर काम गर्न सशस्त्र प्रहरीलाई निर्देशनसमेत दिए । सरकारले दिएको निर्देशन अनुसार सशस्त्र प्रहरीले आफ्नो काम कर्तव्य निष्ठापूर्वक गर्दै आएको बताउँदै सुवेदीले भने, ‘हामी सम्पूर्ण संगठनका सदस्यहरुको अनुशासन, कार्यदक्षता र व्यावसायिक जीवन नै हाम्रो आधारशीला भएकाले सबै सुरक्षा निकायसँग समन्वय गरेर एउटा पहिचान बनाउन सफल भएका छौं ।’
बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगर, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतले शुभकामना दिँदै सशस्त्र प्रहरीले गरेको कामको प्रशंसा गरेका थिए । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजेश घिमिरेको सभापत्विमा भएको कार्यक्रममा गणको आन्तिरक खेलकुदमा विजयी भएका खेलाडी, विभिन्न कार्यमा उत्कृष्ट भएका सशस्त्र प्रहरीलाई सम्मान र पुरस्कृत गरिएको थियो ।
कार्यक्रमको अवसरमा विभिन्न गीतमा सशस्त्र प्रहरीले नृत्यसमेत प्रस्तुत गरे । एसपी घिमिरले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरेका थिए ।
प्रतिक्रिया