मोरङको केराबारीबाट भरुवा बन्दुकसहित २ जना पक्राउ, सिकारी समूहका १ जना फरार

सोमबार, २५ चैत्र २०८१
विराटनगर । मोरङको केराबारीबाट अवैध भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरु वन्यजन्तुको अवैध चोरीसिकारीमा संलग्न समूहका सदस्य रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सिकारी समूहका १ जना फरार भएका छन् । पक्राउ परेकाको साथबाट लोड गरिएको अवस्थामा ३ नाल भरुवा बन्दुक बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार केराबारी–८ का ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्कीलाई पक्राउ गरिएको हो । याक्खा र कार्कीको समूहमा रहेका केराबारी–८ का ३५ वर्षीय धनबहादुर लिम्बू फरार भएका छन् । प्रहरीलाई देख्नसाथ फरार भएका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले केराबारी गाउँपालिका–८ स्थित आमजुंगी सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न गएकालाई आइतबार साँझ ६ः५० बजेतिर पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट बरामद गरिएका भरुवा बन्दुक लोड गरिएको अवस्थामा रहेको जानकारी जोशीले दिए । बन्दुकसहित पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध हातहतियार खरखजना मुद्दा चलाउने प्रहरीको तयारी छ । पछिल्लो समय उत्तरी मोरङका वनमा जंगली जनावरको चोरीसिकारी बढेको जनगुनासो प्रहरीमा पुग्ने गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले चोरी सिकारी नियन्त्रणका लागि प्रहरी सक्रियता बढाइएको जानकारी दिए । चोरीसिकारीमा संलग्न शंकास्पद व्यक्तिहरु देखिएमा प्रहरीलाई गोप्य रूपमा सूचना दिएर सहयोग गर्न पनि एसपी चिमरियाले सबैमा आग्रह गरेका छन् । ‘वन्यजन्तुको सिकार गर्नु गैरकानुनी हो । चोरीसिकारी नियन्त्रणका लागि सक्रियता बढाइएको छ,’ उनले भने, ‘चोरीसिकारी समूहका बारेमा जानकारी दिएर सबैले प्रहरीलाई सहयोग गर्नुपर्छ । अनि मात्रै वन्यजन्तुको सिकार गर्ने क्रम रोक्न सकिन्छ ।’ चोरी सिकारी नियन्त्रणमा प्रहरीलाई समुदायले साथ दिनुपर्ने एसपी चिमरियाले बताए

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार