विराटनगर । क्यान्सरपीडित बालबालिकाको उपचारलाई लक्षित गर्दै नयाँ वर्ष २०८० को अवसर पारेर मोरङमा ‘च्यारिटी इभेन्ट’को आयोजना गरिने भएको छ ।
आगामी वैशाख १ गते साँझ ५ बजे मोरङको बूढीगंगा गाउँपालिका–२ मा रहेको विराट शिक्षण अस्पतालको मैदानमा ‘च्यारिटी इभेन्ट’ गर्न लागिएको हो । च्यारिटीको रुपमा आयोजना हुने सांगीतिक कार्यक्रममार्फत क्यान्सरपीडित बालबालिकाको उपचारमा सहयोग जुटाउने उदेश्य छ ।
‘च्यारिटी इभेन्ट’बाट संकलित रकम रेवन्त रुक्मणि मेमोरियल फाउण्डेशनद्वारा स्थापित बालबालिका क्यान्सर कोषमा जम्मा गरिने छ । आयोजक संस्था ‘ब्लु स्काई इभेन्टस’ ले विराट शिक्षण अस्पतालअन्तर्गतको विराट क्यान्सर इन्स्टिच्युटमा बुधबार पत्रकार सम्मेलन गरेर कार्यक्रमको जानकारी दिएको हो ।
संस्थाका सह–संस्थापक एवं विराट गु्रपका भाइस चेयरमेन डा. निकिता कार्कीका अनुसार कार्यक्रमबाट संकलित सम्पूर्ण रकम क्यान्सर रोगसँग लडिरहेका बालबालिकाको उपचारमा खर्च गरिने छ । ‘पैसाको अभावमा उपचारबाट बञ्चित भइरहेका क्यान्सरपीडित बालबालिकालाई सहयोग पुर्याउन कार्यक्रम आयोजना गर्न लागिएको हो,’ उनले भनिन्, ‘विराट क्यान्सर इन्स्टिच्युटमार्फत क्यान्सरको उपचार सुरु गरिसकेका छौँ ।’
डा। कार्कीका अनुसार क्यान्सरको उपचारमा मुख्य कठिनाइ बालबालिकाको क्षेत्रमा छ । पैसा अभाव हुँदा धेरै बालबालिकाले उपचार पाउन सकिरहेका छैनन् । त्यसलाई लक्षित गर्दै सहयोग रकम जुटाउन काठमाडौं बाहिर पहिलोपटक यस्तो कार्यक्रम गर्न लागिएको उनले बताइन् ।
कार्कीका अनुसार चैत दोस्रो सातबाट अस्पतालमा क्यान्सरको सम्पूर्ण उपचार सुरु भएको छ । हाल १२ जनाले रेडिएशन सेवा लिइरहेका छन् । पछिल्लो १ वर्षमा हजार बढी सेवाग्राहीले किमोथेरापी सम्बन्धी सेवा प्राप्त गरेका छन् । ‘स्थानीयस्तरमै क्यान्सरको सम्पूर्ण उपचार सम्भव भएपछि बिरामीले बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ,’ उनले भनिन्, ‘सरकारले पनि सहुलियत दिने भएपछि सेवाग्राहीलाई सहजता थपिएको छ ।’
क्यान्सरको उपचारमा सरकारले दिने १ लाखसम्मको सहुलियत पर्याप्त नभएको सरोकारवाला बताउँछन् । त्यही भएकाले निजी क्षेत्रबाट पहल गर्नुु परेको आयोजकको दाबी छ । आयोजकका अनुसार क्यान्सर रोगको सामान्य उपचारमा १० देखि १५ लाख रुपैयाँसम्म खर्च हुन्छ । किमोदेखि रेडिएशन थेरापीसम्म आइपुग्दा पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उपचार पाउनसक्ने अवस्था हुँदैन ।
विराट शिक्षण अस्पतालका कम्युनिकेशन एन्ड मार्केटिङ डायरेक्टर तथा ब्लू स्काई इभेन्टसका सह–संस्थापक आभाष श्रेष्ठका अनुसार कार्यक्रममा ‘द स्मृति ब्याण्ड’, ‘श्रीषा ब्याण्ड’ र काठमाडौंको ‘डिजे एलएक्स’ को प्रस्तुति रहने छ । कार्यक्रममा १ हजारभन्दा बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको उनको भनाइ छ ।
कार्यक्रमका लागि ३ र ५ सय, १ हजार ५ सय तथा २० र र ४० हजार दरका टिकट तयार पारिएको छ । ‘अहिले धमाधम टिकट बिक्री भइरहेको छ,’ श्रेष्ठले भने, ‘८० प्रतिशत टिकट बेचिसक्यौँ ।’
प्रतिक्रिया