प्रतिवेदन दराजमा सजाउनका लागि आयोग गठन भएको होइन : अर्थमन्त्री

शुक्रबार, २९ चैत्र २०८१
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सुझाइएका विषयमा कार्यान्वयन गर्न योजना बनाउने बताएका छन् । शुक्रवार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले विगतमा आयोगको प्रतिवेदन दराज सजाउनको निम्ति प्रयोग हुने भन्दै यस पटक भने सुझाव कार्यान्वयनका निम्ति सरकारले काम गर्ने बताए । ‘यो समग्र प्रतिवेदनलाई गहिरो रूपमा अध्ययन गर्नेछौँ । आयोगको प्रतिवेदनमा सुझाइएका विषयमा कार्यान्वयन गर्न योजना बनाउने छौँ । म यो विश्वास दिलाउन चाहन्छु,’उनले भने । उनले थप अगाडि भने,‘विगतमा आयोगको प्रतिवेदन दराज सजाउनका निम्ति प्रयोग हुने अनुभव छ । यस पटक दराज सजाउनको निम्ति आयोग गठन गरेको थिएन । आयोगका सुझाव कार्यान्वयनका निम्ति थिए भन्ने स्थापित गर्न सरकारको अभ्यास रहनेछ ।’ उनले आयोगको सुधारका कामहरू निरन्तर अगाडि बढाइरहनुपर्ने दृष्टिकोणमा सहमति भएको पनि बताए । यस्तै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका अध्यक्ष रामेश्वर खनालले समग्र माग पक्ष कमजोर भए पनि अर्थतन्त्रका तत्कालका समस्या समाधान गर्न माग–पक्षीय नीतिहरू मात्र पर्याप्त नभएको आयोगको निष्कर्ष रहेको बताए । ‘कर्जा वृद्धि कम हुनु, घरजग्गाको कारोबारमा ह्रास आउनु, सहकारी वित्तीय प्रणालीमा लाखौँ मानिसको बचत फस्नु, सरकारले गर्नुपर्ने कतिपय भुक्तानी समयमा नगर्नू, व्यापारिक उधारो असुलीमा समस्या आउनु र निर्माण क्षेत्र सङ्कटग्रस्त बन्न गएकाले उपभोग र लगानीमा ह्रास आएको देखिन्छ,’उनले भने । संरचनात्मक अवरोधलाई कम गर्दै आर्थिक अवसर सिर्जना गर्ने प्रोत्साहन गर्ने र अवसरमा सबैको पहुँच पुर्‍याउने दिशामा सरकारका नीति र कार्यक्रमहरू लक्षित हुनुपर्ने पनि उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार