सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थित बाङ्गेमा प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ।
चैत ३० गते विहानको राति ३:३० बजेको समयमा अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको गस्ती टोलीले झुम्काबाट धरानतर्फ जाँदै गरेको बा. ४४ प. ७७४९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा सो सफलता पाएको हो।
प्रहरीका अनुसार मोटरसाइकल चालक धरान उपमहानगरपालिका–८ निवासी २४ वर्षीय दिपेश लिम्बु र पछाडि सवार धरान उपमहानगरपालिका–१९ निवासी सुमन राईको साथबाट ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध फेला परेको हो।
उनीहरुले बोकेको झोलाबाट प्रतिबन्धित औषधि ट्रामोल ५७ पत्ता (५७० ट्याब्लेट) र नियन्त्रित औषधि स्पास्पेन १४७ पत्ता (१४७० ट्याब्लेट) गरी कुल २०४० ट्याब्लेट बरामद गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
बरामद औषधिसहित मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुबै व्यक्तिलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याइएको र घटनासम्बन्धी अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया