चाररातेका चौरमा थरी थरी चौँरी (फोटो फिचरसहित)

मंगलबार, ०२ बैशाख २०८२
पाँचथर : हिमाल र चौँरी एक–अर्काका पर्याय हुन । चौँरी विनाको हिमाल र हिमाल विनाको चौँरी अधुरो रहन्छन् । हिमालको पर्यायका रूपमा पहिचान बनाउन सफल चौँरीको प्रवर्धनसँगै यिनका उत्पादनको बजारीकरणका लागि पाँचथरको फालेलुङमा आठ वर्ष अघि सुरु भएको चौँरी पर्यटन महोत्सवलाई यो वर्ष पनि निरन्तरता दिइएको छ । समुद्री सतहदेखि ३ हजार ४ सय ५० मिटर उचाइमा आयोजित महोत्सवमा पाँचथर र ताप्लेजुङका गोठबाट ल्याइएका रङ बिरङका चौँरीले नयाँ वर्षको बिहानैदेखि चौर ढाकेका थिए । चौँरी सँगै महोत्सव स्टलमा राखिएका घिउ छुर्पी,भेडाको उन र चौँरीको रौँबाट बुनेका कपडा सँगै चौँरीकै दूधबाट पकाइएको खीर पर्यटकको रोजाइमा थिए । महोत्सवमा चौँरी हेर्न नेपाल,भारत र सिक्किमका विभिन्न स्थानबाट आएका २ हजार बढी आन्तरिक र बाह्य पर्यटकको उपस्थिति रहेको आयोजकको दाबी छ । महोत्सव स्थलमा रङ रङका चौँरी देख्दा त्यहाँ पुगेका आन्तरिक पर्यटकलाई फोटो भिडियो खिच्न तिनका गतिविधि हेर्न भ्याइ नभ्याई थिए । प्रत्येक नयाँ वर्षको अवसर पारेर यहाँ चौँरी महोत्सव आयोजना गर्न थालिएको हो । यो वर्ष फालेलुङ गाउँपालिका मुख्य आयोजक रहेको महोत्सव आयोजना गर्न संघीय सरकार मातहतको पर्यटन बोड लगायतले आर्थिक सहयोग गरेका छन् । महोत्सवले चौँरी पालन प्रति युवाको आकर्षण बढाउनका साथै सीमा संरक्षण र फालेलुङका पर्यटकीय स्थलहरूको प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको फालेलुङ गाउँपालिका अध्यक्ष वीर विक्रम थाम्सुहाङले बताए ।      

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार