इनरुवा । सुनसरीको इनरुवामा काटेर फालेको अवस्थामा गाई गोरुको खुट्टाजस्तो देखिने वस्तु भेटिएको छ ।
इनरुवा नगरपालिका–१ स्थित कृषि विकास बैङ्कनजिक बाटोमा बुधवार बिहान एउटा खुट्टा फेला परेको थियो । यद्यपि, खुट्टा गोरु वा गाई के को हो भनेर खुल्न बाँकी छ । स्थानीयले बिहान १० बजेतिर चौपायाको खुट्टा बाटोमा देखेपछि प्रहरीलाई जानकारी दिएका थिए ।
कसैले गाई वा गोरु काटेर खुट्टा फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार कतै फालेको खुट्टा कुकुरले ल्याएर छाडिदिएको पनि हुनसक्छ ।
यस घटनाको अनुसन्धानका लागि सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । खतिवडा नेतृत्वको अनुसन्धान समितिले काम थालिसकेको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए ।
‘गाई गोरुको जस्तो देखिन शङ्कास्पद खुट्टा फेला परेको छ । राम्रो र प्रभावकारी अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउन डीएसपीको नेतृत्वमा समिति बनाएर काम सुरु गरिसक्यौँ,’ उनले भने ।
चौपायाको खुट्टाजस्तो देखिने वस्तु परीक्षणका लागि पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ । प्रहरीले प्राविधिक पक्षबाट समेत विश्लेषण गरेर वास्तविकता पत्ता लगाउने प्रयास गरिरहेको छ ।
प्रतिक्रिया