काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैली समर्थनयोग्य नरहेको भन्दै आलोचना गरेका छन्। शर्माले सामाजिक सञ्जालमार्फत सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्।
‘नगर्नुपर्ने निर्णयमा हतारो/गर्नुपर्ने निर्णयमा बिलम्ब, सरकारको यो प्रवृत्ति समर्थन योग्य छैन,’ शर्माले सात बुँदामा सरकारको आलोचना गर्दै लेखेका छन्।
उनले सामाजिक सन्जाल विधेयक, कुलमान प्रकरण, शिक्षक आन्दोलन, अख्तियार सम्बन्धी विधेयक, त्रिविको उपकुलपतिको राजीनामा, गभर्नर नियुक्ति र नेपाल प्रहरीको एआईजी पद रिक्त भएका विषयमा सरकारको कामको आलोचना गरेका हुन्।
यस्तो छ शर्माको धारणा
सरकार चल्नुपर्छ तर कार्यशैली बदल्नुपर्छ!
१) सामाजिक सञ्जाल विधेयक नियमनका नाममा नियन्त्रणको नियत साथ ल्याइयो। अध्यादेशको प्रत्येक अक्षरमा संवाद गरिएको संयन्त्रमा यो विधेयक ल्याउनुपुर्व कुनै संवाद भएन।
२) कुलमान प्रकरण मा हटाउनुहुन्न भन्ने कांग्रेसभित्रको फरक मत र आम जनमतको हेक्का राखिएन। असन्तुष्टिको आगोमा चरु हाल्नुहुन्न भन्ने सजगता सरकारमा देखिएन।
३) शिक्षक आन्दोलनको माग सम्बोधन गर्न ढिलाइ हुँदै गएको छ। सरकारले निर्णय गर्न मिल्ने बुँदाहरुमा महासंघलाई विश्वासमा लिएर अविलम्ब निर्णयमा पुग्नुपर्छ, विधेयक मार्फत टुंगोमा पुग्ने बुँदाहरुप्रती साझा प्रतिबद्धता गर्न सकिन्छ, गरिनुपर्छ।
४) अख्तियार सम्बन्धि विधेयक राज्यव्यवस्था समितिले उपसमिति मार्फत करिब टुंगोमा पुर्याएको थियो, यसलाई निर्देशित रूपमा `होल्ड´ गराउने कार्य आलोच्य भएको छ र यो अनुचित छ।
५) त्रीविविका उपकुलपतिले पदत्याग गर्नुपर्ने अवस्था आउनु र फेरिपनी त्रीविविमा बेथितिले प्रश्रय पाउनु जुनकुनै कोणबाट पनि गलत भएको छ।
६) रास्ट्रबैंकको गभर्नर नियुक्तिको बिषयसँग गाँसिएर अनेक थरी प्रश्न उठिसक्दा नियुक्तिमा अझै अलमल जारी रहनु दु:खद छ। मौद्रिक नितिको नेतृत्व गर्ने, समग्र बैंकिङ क्षेत्रको नियामक संस्थाको नेतृत्व चयनमा संवेदनशील अग्रसरता नदेखिनु सरकारको सक्षमता माथिकै प्रश्न हो।
७) नेपाल प्रहरीको एआइजी पदमा ६ वटा दरबन्दी रिक्त भएको महिनादिन पुग्न लाग्दा समेत नियुक्तिमा अलमल छ, सरकारले यस्तो विलम्बबाट प्रशंसा हासिल गर्न सक्दैन।
प्रतिक्रिया