कोशीमा लगानी सम्मेलनको तयारी पूरा

बुधबार, ०३ बैशाख २०८२
विराटनगर। कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा भएको छ। सम्मेलनको तयारीबारे आज (बुधबार) पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनको तयारी पूरा भएको जानकारी दिए । सोकेसमा परेका आयोजना, लगानीका लागि रहेको बाधा हुने खालका कानुन संशोधन गर्ने प्रकृया लगायतका सबै विषयमा तयारी पूरा भएको उनको भनाइ छ । लगानी सम्मेलनमा मुख्य गरी पर्यटन क्षेत्रका योजनाहरु समेटिएको र त्यसबाहेक उद्योग र आईटी क्षेत्रलाई पनि समेटिएको मुख्यमन्त्री कार्कीले जानकारी दिए । मुख्यमन्त्री कार्कीले संघीय सरकारसँगको समन्वयमा कानुन संशोधन र आवश्यक नीतिहरू संशोधन गरिने बताए । उनले लगानी सम्मेलनले कोशी प्रदेशमा लगानीको वातावरण निर्माण हुने र यसले रोजगारी सिर्जनामा सहयोग हुने बताउँदै लगानी सम्मेलनमार्फत राष्ट्रिय पुँजीको विकास हुने धारणा राखे । राष्ट्रिय आयको वृद्धिमा यसले सहयोग पुर्याउने चर्चा गर्दै कार्कीले विगतमा भएका लगानी सम्मेलनबाट पाठ सिक्दै अधिकतम लगानी भित्र्याउने र लगानीको सुनिश्चितताको लागि सम्मेलन सफल हुने बताए । वैशाख १८ र १९ गते विराटनगरको वीरेन्द्र सभागृहमा हुने लगानी सम्मेलनमा १ खर्ब ३९ अर्ब रूपैयाँ रुपैयाँको परियोजना सोकसिङ गर्ने तयारी प्रदेश सरकारको छ। प्रदेश सरकारले ५४ वटा योजनाहरू लगानी सम्मेलनको सोकेसमा राख्ने तय गरेको छ। लगानी सम्मेलनमा सुनिश्चित भएको लगानी कार्यान्वयनमा लैजानका लागि समेत सचेत भएर काम गरिरहेको मुख्यमन्त्री कार्कीले बताए । पत्रकार सम्मेलनमा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लगानी सम्मेलनका लागि सबै खालका कानुनी अड्चनहरू फुकाउने गरी काम भइरहेको बताए । लगानी सम्मेलनलाई लक्षित गरेर कानुनहरु संशोधन गर्ने र नयाँ कानुन बनाउने काम भइरहेको उनले बताए । ८ वटा प्रदेश कानुन संशोधन गर्ने र एउटा नयाँ कानुन बनाउने क्रममा रहेको जानकारी उनले दिए । लगानी सम्मेलन पहिलो पटक आयोजना गर्न लागिएकोले स्थानीय तह, संघीय सरकार र निजी क्षेत्रको सहकार्य र समन्वयमा लगानी सम्मेलनको तयारी अगाडि बढेको मन्त्री भण्डारीले बताए । कोशी प्रदेशमा सार्वजनिक, निजी साझेदारीअन्तर्गतका परियोजनाहरूलाई कार्यान्वयनका लागि सरलीकृत वातावरण निर्माण गर्न कानुनी, नीतिगत सुधार र प्रशासनिक सहजता प्रदान गर्ने मन्त्री भण्डारीले जानकारी दिए । लगानी प्राधीकरणका कार्यकारी अधिकृत सरोज कोइरालाका अनुसार पर्यटन क्षेत्रमा १५ वटा र भौतिक पूर्वाधारमा १४ वटा योजना बनेका छन्। यस्तै लगानी सम्मेलनमा कृषिका ९ र उद्योगका ९ वटा परियोजना समावेश गरिएको उनले बताए । त्यस्तै सूचना प्रविधि क्षेत्रमा २ वटा र वेस्ट म्यानेजमेन्ट क्षेत्रमा २ वट परियोजना सम्मेलनका लागि सोकेसिङ भएका छन् । लगानी सम्मेलनमार्फत होटल, रिसोर्ट, वाटर पार्क लगायतका योजना सोकेसिङ भएका छन । यसैगरी सञ्चालनमा रहेका केही परियोजनालाई समेत सोकेसिङमा राखिएको छ । कोशी प्रदेश लागानी सम्मेलन सचिवालयका संयोजक तथा प्रदेश सचिव पवनकुमार तिमिल्सेनाका अनुसार सम्मेलन सफल बनाउन विभिन्न समितिहरू गठन भइसकेका छन् । नीतिगत, कानुनी सुधार तथा प्रशासनिक सहजताका पक्षमा पनि तयारी अघि बढाइएको उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार