काठमाडौं । संसदमा विचाराधीन शिक्षा विधेयकबारे स्पष्ट धारणा बनाउन नेपाली कांग्रेसले छलफल सुरु गरेको छ।
मंगलबार साँझ सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले विधेयकमा रहेका २८ बुँदामा असहमति समाधान गर्न र पार्टीको आधिकारिक धारणा बनाउन शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई जिम्मेवारी दिएको हो।
विद्यालय शिक्षा ऐनको माग राख्दै आन्दोलनरत शिक्षकहरूप्रति सम्मान जनाउँदै, कांग्रेसले उनीहरूको माग सम्बोधनमा सरकारलाई गम्भीर बनाउन पहल गर्ने बताएको छ। पार्टीका मुख्यसचिव कृष्ण पौडेलले विधेयकको विषयमा समन्वय गर्न महरलाई जिम्मेवारी दिइएको र उनले तयार गर्ने धारणा नै पार्टीको आधिकारिक धारणा हुने बताए।
चैत २० गते शिक्षक आन्दोलन भएपछि, २२ गते कांग्रेस सभापति शेरबहादुर देउवाले सरोकारवालासँग छलफल गरेका थिए। उनले अर्थमन्त्रीलाई फोन गरी शिक्षकको माग सम्बोधनमा सरकार गम्भीर बन्नुपर्ने बताए। छलफलमा गृहमन्त्री रमेश लेखक, सहमहामन्त्री जीवन परियार र पौडेल स्वयं पनि सहभागी थिए।
यता, शिक्षामन्त्री, अर्थमन्त्री र गृहमन्त्रीबीच पनि निरन्तर छलफल भइरहेको पौडेलले जानकारी दिए। वैशाख १ गते महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई शिक्षकका मागमा सक्रिय हुन निर्देशन दिइएको थियो। त्यसपछि सोमबार बिहान सानेपामा शिक्षक प्रतिनिधिसँग छलफल गरिएको र माग सम्बोधनका लागि कांग्रेस प्रतिबद्ध रहेको स्पष्ट पारिएको उनले बताए।
सोही दिन बेलुकी संसदीय दलको कार्यालयमा पुनः बैठक बसेको थियो, जसमा महामन्त्रीद्वय, महरसहित विभिन्न नेताहरू सहभागी थिए। बैठकले विज्ञ र सरोकारवालासँग छलफल गरी पार्टी धारणा बनाउने निर्णय गरेको हो।
शिक्षा विभाग प्रमुख महरले आफूहरू हाल सक्रिय रहेको बताए। उनले आन्दोलनरत शिक्षकहरूसँग सरकारको वार्ता अझै निष्कर्षमा नपुगेको र विधेयकमा ९२ बुँदामध्ये २८ बुँदामा सहमति नभएकाले कांग्रेसले जिम्मेवार भूमिका खेल्ने स्पष्ट पारे। आन्दोलन लम्बिँदा शैक्षिक सत्र प्रभावित हुने र शिक्षकको राज्यप्रतिको विश्वास घट्ने खतरा रहेको उनले बताए।
प्रतिक्रिया