धरान : धरान उपमहानगरपालिकामा आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैत मसान्तसम्मको ९ महिनामा लागुऔषध सम्बन्धी १६० वटा मुद्दा दर्ता भएका छन्।
इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्क अनुसार, पछिल्ला तीन वर्षमा लागुऔषध सम्बन्धी मुद्दा लगातार बढ्दै गएका छन्। आर्थिक वर्ष २०७८/७९ मा ५५ वटा, २०७९/८० मा ६५ वटा र २०८०/८१ मा १०२ वटा मुद्दा दर्ता भएका थिए।
प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार, लागुऔषध मुद्दामा संलग्न धेरैजसो व्यक्ति युवापुस्ताका छन्। उनीहरूले धरानमा भइरहेका अन्य आपराधिक गतिविधिमा पनि संलग्नता देखाउने गरेको अनुसन्धानबाट थाहा भएको छ।
चालु वर्षको ९ महिनामा मात्रै १६० वटा मुद्दा दर्ता भइसकेका छन्। थुनामा रहेका १०० बढी व्यक्ति मध्ये धेरैजसो युवा छन् भने पछिल्लो समय युवतीहरूको संलग्नता पनि बढ्दो देखिएको छ।
यसैबिच, मङ्गलवार राति भेडेटारबाट धरानतर्फ आउँदै गरेको को २ ह ४७३९ नम्बरको अटोमा चेकजाँच गर्दा झन्डै १९ केजी गाँजासहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा धरान–४ का ४८ वर्षीय जोक बहादुर राई, ३० वर्षीय सुमन राई र धनकुटा–साँगुरीगढी गाउँपालिका–३ का ३६ वर्षीय सुरज लिम्बु छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।
लागुऔषध प्रयोग र ओसारपसार बढ्दै गएकाले धरानका मेयर हर्क साम्पाङले ‘से नो टु ड्रग्स’ अभियान चलाउँदै आएका छन्। साथै, प्रहरी र विभिन्न सङ्घसंस्थाले गाउँ, टोल, विद्यालय र सार्वजनिक स्थानहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्, तर समस्या भने अझै नियन्त्रणमा आउन सकेको छैन।
यसै अवधिमा, धरानमा अभद्र व्यवहारका ५३, बैङ्किङ कसुरका ३५, जबरजस्ती करणीका १०, कर्तव्य ज्यानका ४, ज्यान मार्ने उद्योगका ९, ठगीका १०, बहुविवाहका ६ र बाल यौन दुर्व्यवहारका २ वटा मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
यस्तै आर्थिक वर्ष २०८१/८२ को साउन महिना देखि चैत मसान्त सम्ममा अभद्र व्यवहार कसुरमा ५३, बैङ्किङ कसुरमा ३५, जबरजस्ती करणी कसुरमा १०, कर्तव्य ज्यानमा ४, ज्यान मार्ने उद्योगमा ९, ठगी कसुरमा १०, बहु विवाहमा ६, बाल यौन दुर्व्यवहारमा २ वटा मुद्दा दर्ता भएको ईलाका प्रहरी कार्यालय धरानको तथ्याङ्कमा छ ।
प्रतिक्रिया