झापा । सस्तो मूल्यमा जग्गा उपलब्ध गराइदिने भन्दै एक महिलाबाट ३२ लाख रुपैयाँ लिएर फरार भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्जुनधारास्थित नयाँ बसपार्कमा सस्तो मूल्यमा जग्गा उपलब्ध गराउने भन्दै ती महिलाबाट सो समूह ३२ लाख रुपियाँ लिइ बेपत्ता भएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार पक्राउ पर्नेमा रामेछाप जिल्ला देउराली गाउँपालिका २ घर भई भक्तपुर बस्ने ३९ वर्षीय राजेश श्रेष्ठ, पाँचथर, मिक्लाजुङ गाउँपालिका ४ घर भई हाल काठमाडौँको गर्जुधारा बस्ने ५२ वर्षीय जनक रेग्मी, मोरङ,बेलबारी नगरपालिका ६ घर भई हाल झापा मेचीनगर नगरपालिका ६ बस्ने ५५ वर्षीय रणबहादुर पोखरेल र झापा, कमल गाउँपालिका ५ बस्ने ५२ वर्षीय विजय राई छन् ।
अर्जुनधारा नगरपालिका ११ स्थित नयाँ बसपार्क नजिकै दुई कट्ठा जग्गा सस्तो दरमा बिक्रीमा भइरहेको र खरिद गर्न आउनु भनी विजयले मोरङ जिल्ला उर्लाबारी नगरपालिका ४ बस्ने विष्णुमाया सापकोटा सुबेदी र अनिल विश्वकर्मालाई चैत ३० गते बोलाएका थिए।
तर, विजयले जग्गा खरिदबिक्री गर्ने कुनै बैना कागजात नबनाई विष्णुमायाले लिएर आएको ३२ लाख रुपैयाँ लिएर फरार भएका थिए ।
आफ्नो रकम लुटिएको भन्दै पीडितले तत्काल इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका थिए।
प्रहरीमा रकमसहित दुईजना इलामतर्फ भागेको सूचना पाए लगतै झापा प्रहरीले जिल्ला प्रहरी कार्यालय इलामसँग सहकार्य गरी इलाम नगरपालिका ७ पुरानो बसपार्कस्थित देउराली होटेलमा लुकीछिपी बसेको अवस्थामा राजेश र जनकलाई प्रहरीले १४ लाख ६५ हजार नगदसहित पक्राउ गरेको डीएसपी रिजालले बताए।
सोही घटनामा संलग्न रहेको विजय र रणबहादुरलाई इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा ११ स्थित थापा होटेल एन्ड लजमा लुकीछिपी बसेको अवस्थामा नगद १३ लाख रुपैयाँसहित पक्राउ गरेको उनले बताए।
पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया