धरान : सुनसरीको धरान उपमहानगरपालिका ६ पाँचकन्या सामुदायिक वनमा मृत भेटिएकी चुनकुमारी दाहालको हत्याको संलग्नमा ६ जनालाई प्रहरीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा धनकुटा महालक्ष्मी नगरपालिकाकी ३४ वर्षीय दाहालको हत्या उनकै श्रीमान् प्रेमबहादुर बुढाथोकीको मुख्य योजना र निर्देशन बमोजिम भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बुढाथोकीकै योजना र निर्देशन बमोजिम अन्य ५ जना मानिसहरूको सहयोगमा कर्तव्य गरी मारेको खुल्न आएको जनाए ।
प्रविधिको उच्चतम प्रयोग गरी अनुसन्धान गर्ने क्रममा श्रीमान् बुढाथोकी, मोरङ पथरी शनिश्चरे नगरपालिका ३ संगम चोक बस्ने वर्ष २९ को ढकेन्द्र बुढाथोकी, निजको श्रीमती वर्ष २५ की सृष्टि बुढाथोकी, पाँचथर मिक्लाजुङ गाउँपालिका ७ लुमाङदिङ घर भई मोरङ उर्लाबारी नगरपालिका ५ फागुटोल बस्ने वर्ष ३६ को योगेन्द्र गौतम, वर्ष २८ की डेनु गौतम, मोरङ पथरी शनिश्चरे नगरपालिका वडा न.३ बस्ने वर्ष ४० को केशवराज दाहाललाई ज्यान सम्बन्धी कसुरमा पक्राउ परेका हुन् ।
घटनामा संलग्न रहेका भारतीय नागरिक आसाम खकन वस्ती बस्ने वर्ष ३५ को राजु थापा मगर भने फरार रहेको प्रहरीले जनाएको छ ।
घटनामा प्रयोग भएका तीन थान मोटरसाइकल बरामद भएको पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक दिवस कुवरले जनाकारी दिए ।
गत चैत २५ गते पाँचकन्या सामुदायिक वनमा दाहालको शव फेला परेको थियो । मृतकको कम्मर देखि मुनिको भागको लुगा फुकालिएको अर्धनग्न अवस्थामा झोलाको फित्ता घाँटीमा बाँधी रुखको फेटको हाँगामा बाँधिएको शङ्कास्पद अवस्थामा शव फेला परेको उनले बताए ।
अनुसन्धानबाट खुले अनुसार घटनाको मुख्य कारण श्रीमान् श्रीमती बिच मनमुटाब, श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा कोरियामा रहँदा श्रीमती अर्कैसँग लागेको शङ्का गरेको र सम्बन्धबिच्छेद माग्दा नमाने पछि हत्याको योजना बनाएको अनुसन्धानको क्रममा देखिएको प्रहरी उपरीक्षक तिम्सिनाले बताए ।
प्रतिक्रिया