पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा अर्बौं रूपैयाँ भ्रष्टाचार : अख्तियारको घेरामा पूर्वमन्त्री आले

शनिबार, ०६ बैशाख २०८२
काठमाडौँ :  पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा अर्बौं रूपैयाँ भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक भएलगत्तै धनगढी विमानस्थल निर्माण र विस्तारमा पनि भ्रष्टाचार भएको विषयमा छानबिन सुरु भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनगढी विमानस्थल विस्तार परियोजनाबारे अनुसन्धान सुरु गरेको हो। अख्तियारले चैत २१ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र चैत ३१ गते नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरी सबै विवरण माग गरिसकेको छ। पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको समयमा धनगढी विमानस्थल विस्तारका नाममा करोडौं रूपैयाँ अपचलन र अनियमितता भएको विषयमा अख्तियारले कागजपत्र र विवरण मागेको हो। पूर्वमन्त्री आलेको निर्देशनमा भ्रष्टाचार भएको भन्ने उजुरी अख्तियारमा परेपछि छानबिन थालिएको हो। यो विषयमा पूर्वमन्त्री आलेले आफ्नो कुनै पनि गल्ती–कमजोरी नभएको बताएका छन्। ‘मैले पनि केही विषय र समाचार सुनेको छु। मैले गल्ती गरेको भए अख्तियारले मलाई पत्र काट्नुपर्ने हो तर त्यसो भएको छैन। ममाथि षड्यन्त्र गर्न खोजिएको छ,’ उनले भने। अख्तियारमा परेको उजुरीमा आले मन्त्री भएका बेला निजी स्वार्थमा सरकारी बजेट दुरुपयोग गरेको उल्लेख छ। मन्त्री हुँदा आलेले नागरिक उड्डयन प्राधिकरणको खाताबाट एक अर्ब रुपैयाँ मेगा बैंकमा जम्मा गराएको र सोही रकम धितोमा राखेर पुनः एक अर्ब रूपैया“ ऋण लिएको तथा सो रकमबाट उनले धनगढी विमानस्थल आसपासको क्षेत्रमा ७५ करोड बराबरको ३० बिघा जग्गा खरिद गरेको उजुरीमा उल्लेख छ। विमानस्थलवरपर प्रतिकट्ठा साढे १२ लाखका दरले जग्गा किनेको पनि उजुरीमा उल्लेख छ। चुनावको समयमा धनगढी विमानस्थल मात्र होइन, दीपायलस्थित डोटी विमानस्थललाई सञ्चालन गर्ने भन्दै लामो समयदेखि अभिव्यक्ति दिँदै आएका छन्। धनगढी विमानस्थललाई स्तरोन्नतिका लागि जग्गा अधिग्रहण गर्न बजेट विनियोजन गरिएको थियो। विमानस्थलका लागि दुई सय ५० बिघा जग्गा अधिग्रहण गर्ने र धावनमार्ग विस्तार गरी २५ सय मिटर पुर्‍याउने लक्ष्य राखिएको थियो। २०७८ पुस ११ गतेको बैठक मन्त्री आलेको अध्यक्षतामा बसेको थियो। उक्त बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणले धनगढी विमानस्थल विस्तारका लागि एक अर्ब रूपैयाँको बजेट विनियोजन गर्ने निर्णय गरेको थियो। धनगढी विमानस्थलसँगै मन्त्री आलेले डोटी विमानस्थलका लागि १८ करोड ६१ लाख, साँफेबगर विमानस्थलका लागि तीन करोड, कमलबजार विमानस्थलका लागि तीन करोड, महेन्द्रनगर विमानस्थलका लागि दुई करोड ५१ लाख, बैतडी विमानस्थलका लागि एक करोड ५० लाख, दार्चुला विमानस्थलका लागि दुई करोड ६५ लाख, बझाङ विमानस्थलका लागि १२ लाख, बाजुरा विमानस्थलका लागि १८ लाख र डडेलधुरा विमानस्थलमा सम्भाव्यता अध्ययनका लागि ५० लाख रूपैयाँ बजेट विनियोजन गराएका थिए। धनगढी विमानस्थल विस्तार योजना कार्यान्वयन नहुँदै मन्त्री आले पदमुक्त भएपछि विस्तार योजना अलपत्र परेको थियो। योजनाअनुसार नखर्चिएको रकममध्ये २५ करोड रूपैयाँ पनि अपचलन भएको बताइएको छ। अख्तियारले सो विषयमा मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत पत्र काटेको छ। प्राधिकरणलाई सात दिनभित्र सम्बन्धित कागजात एवं स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो। प्राधिकरणले पनि समयमै सबै विवरण दिने जनाएको छ। ‘अख्तियारले धनगढी विमानस्थल विस्तारको विषयमा भएका निर्णय र गरिएको खर्चको विवरण माग गरेको छ। त्यो विषयमा सबै कागजात समयभित्रै पठाउने तयारी भएको छ,’ नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीले भने। नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा आबद्ध आले डोटीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य छन्। तर उनी अहिले पार्टीमा निष्क्रिय छन्। पार्टीको महाधिवेशनमा पनि उनी सहभागी भएनन्। संसदीय समितिको बैठकमा आलेले आफू मन्त्री हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पार्टीको दबाबमा आफूले नियुक्त गर्नुपरेको लाचारी प्रकट गरेका थिए। आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार