जनकपुरधाम । धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु भएको छ भने आमा गम्भीर अवस्थामा छन् ।
धनुषाको शहीद नगर नगरपालिका- ५ यदुकोहाका सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जीव यादवले बताए ।
इन्स्पेक्टर यादवका अनुसार सुशीलकी श्रीमती ३० वर्षीया पविता साह गम्भीर अवस्थामा छिन् । उनको उपचार प्रादेशिक अस्पतालको भेन्टिलेटरमा भइरहेको छ ।
प्रहरीका अनुसार सोमबार साँझ ६ः४० बजेको समयमा घरमै आमासहित सन्तानहरू विष सेवन गरेको अवस्थामा फेला परेका थिए । स्थानीयले तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो । अस्पताल लैजाँदा तीन जनाको मृत्यु भइसकेको थियो ।
राति पौनै ९ बजे मात्र प्रहरीलाई खबर आएपछि घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घरायसी विवादमा पविताले तीनै छोराछोरीलाई विष सेवन गराई हत्या र आफूले स्वयम विष सेवन गरी आत्महत्याको प्रयास गरेको हुन सक्ने प्रहरीको आशङ्का छ ।
प्रतिक्रिया