विराटनगर : नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङले आफ्नो स्थापना दिवसको अवसरमा विराटनगरमा बुधबार आयोजना गरेको ‘वर्तमान राजनीतिमा विद्यार्थीको भूमिका’ विषयक विचार गोष्ठीमा सहभागी नेताहरूले मुलुकको राजनीतिक नेतृत्वमा नयाँ पुस्ताको अग्रसरता आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सांसद प्रदिपकुमार सुनुवारले विद्यार्थीहरूको सक्रियता र जनसम्पर्कलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए । उनले शिक्षा प्रणालीमा आमूल परिवर्तन गरी रोजगारीमुखी शिक्षा प्रणाली विकास गर्नुपर्नेमा बल दिएका छन् ।
त्यस्तै, नेविसंघका पूर्वसभापति गुरुराज घिमिरेले विश्वभरका उदाहरण प्रस्तुत गर्दै पुराना नेताहरूको विकल्पका रूपमा विद्यार्थी नेताहरूबाटै परिवर्तन सम्भव हुने बताए । उनले विद्यार्थीहरूलाई नेतृत्व लिन प्रेरित गर्दै विकासमा सक्रिय बन्न आह्वान गरेका छन् ।
गोष्ठीमा पूर्वमुख्यमन्त्री केदार कार्कीले विद्यार्थीहरूलाई देशको मेरुदण्डको रूपमा चित्रण गर्दै आउँदो वर्षको बजेट उनीहरूलाई प्राथमिकता दिने गरी ल्याउनुपर्नेमा जोड दिए । उनले नेपाललाई शैक्षिक हब बनाउने योजना सहित नीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने सुझावसमेत दिएका छन्
कार्यक्रममा कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले पार्टी अनुशासन उल्लंघन गर्ने विद्यार्थी तथा नेताहरूमाथि कारबाहीको खाँचो रहेको बताए ।
नेविसंघ मोरङका सभापति सरोज पोखरेलको अध्यक्षतामा सम्पन्न समारोहमा नेविसंघका पूर्वसभापतिहरू र स्ववियू निर्वाचनमा विजयी भएका पदाधिकारीहरूलाई सम्मान गरिएको छ ।
सम्मानितहरूमा गुरुराज घिमिरे, सूर्यहरी मानन्धर, अर्जुन निरौला, ललित श्रेष्ठ, पूर्वमुख्यमन्त्री कार्की, शंकर भट्टराई, गोपाल शेढाइँ लगायत छन् । उनीहरूलाई केन्द्रीय सदस्य सुनुवारले कदरपत्र, फूलमाला र दोसल्ला ओढाएर सम्मानित गरेका हुन् ।
गोष्ठीमा कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री तथा प्रदेश योजना आयोग सदस्य प्रमिला गच्छदार, कांग्रेस कोशी प्रदेशकी सचेतक शोभा पालुङवा लगायतको उपस्थिति रहेको थियो । नेविंघबाट निर्वाचित भएका मोरङका प्रतिनिधिहरुलाई सम्मान समेत गरिएको अध्यक्ष पोखरेलले बताए ।
प्रतिक्रिया