झापामा म्याद गुज्रेका अखाद्य बस्तुहरू बिक्री गर्दै व्यापारी,मेचीनगरमा बजार र सहकारीको अनुगमन तीव्र पारियो

खाद्य उद्योगलाई ५० हजार सम्म जरिवाना

शनिबार, १३ बैशाख २०८२
तस्बिर : मेचीनगर नगरपालिका कार्यालय, झापा

झापा : मेचीनगर नगरपालिकाले बजार र सहकारीको अनुगमनलाई तीव्र बनाएको छ। अनुगमनमा त्रुटि भेटिएका व्यवसायीलाई जरिवाना र सहकारीलाई सचेत गरिएको छ। उपप्रमुख मीना उप्रेतीको नेतृत्वमा भएको बजार अनुगमनमा मेचीनगर–९ को पूजा फुड प्रोडक्सन उद्योगमा म्याद गुज्रिएको पास्ता, सुजी र मैदा फेला परेको थियो। 

उद्योग सञ्चालक पुष्पा जैसवाल चौधरीलाई उपभोक्ताको हितविपरीत काम गरेको अभियोगमा ५० हजार रुपैयाँ जरिवाना गरिएको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए। जरिवाना तिरेपछि लापरबाही नगर्ने शर्तमा उद्योगको ताला खोलिएको छ। खाद्य विश्लेषक दिपेन्द्र कार्कीले मेचीनगर–१० को नन्दा फुड इन्डस्ट्रिज र मेचीनगर–१४ को सिङ्गापुर बेभरेज नेपाल प्रालिमा पनि अनुगमन गरिएको बताए। नन्दा फुड इन्डस्ट्रिजमा सरसफाइमा कमी पाइएकाले सञ्चालकलाई सरसफाइ व्यवस्था मिलाउन निर्देशन दिइएको कार्कीले बताए।

यसैबीच, सहकारी समन्वय समितिले मेचीनगरका १५ सहकारीमा स्थलगत अनुगमन गरेको छ। समितिका सचिव कार्कीले अनुगमनका क्रममा आठ सहकारीले सहकारी मूल्य र मान्यता पालना नगरेको पाइएकाले सुधारका लागि सुझाव दिइएको बताए। 

अनुगमन गरिएका सहकारीमा मेचीनगर–१० को लङ्कासरी महिला संवृद्धि बहुउद्देश्यीय सहकारी, तारावारी शान्ति बचत तथा ऋण सहकारी, मेचीनगर–१४ को आपसी समाज बचत तथा ऋण सहकारी, विहानी बचत तथा ऋण सहकारी, मेचीनगर–१२ को सामूहिक अभियान बचत तथा ऋण सहकारी, सब्जीमण्डी कृषि सहकारी, चारआली बचत तथा ऋण सहकारी, मेचीनगर–१३ को आशावादी बहुउद्देश्यीय सहकारी, मेचीनगर–१ को कृष्ण थुम्की सहकारी, मेचीनगर–२ को वौद्धमोड कृषि सहकारी, प्रेरणा कृषि सहकारी, ब्रमाण्ड अपाङ्ग तथा महिला बचत तथा ऋण सहकारी, मेचीनगर–४ को पानस कृषि सहकारी, साना किसान कृषि सहकारी र मेचीनगर–५ को नकलबन्दा बचत तथा ऋण सहकारी छन्। 

आठ सहकारीमा सञ्चालक समितिको बैठक नियमित नगरेको, बिनाधितो ऋण लगानी गरेको, कर्मचारीलाई नियुक्तिपत्र नदिएको, तमसुकमा ऋण कार्यविधिको दफा उल्लेख नगरेको, ऋण समितिको निर्णय ऋणीको फाइलमा नराखिएको, फाइलमा स्वघोषणा, अंशियारको सम्पत्ति र ऋण स्वीकृतिको पत्र नराखिएको, मासिक प्रतिवेदन नबनाएको, सूचना पाटी नराखिएको, तोकिएको समयमा साधारणसभा नगरेको, सदस्य शिक्षा कार्यक्रम नगरेको र कर्जा जोखिम कोषको व्यवस्था नगरेको पाइएको थियो। 

सहकारी अनुगमन टोलीमा समितिका सदस्य दुर्गाप्रसाद सापकोटा, वीपी भट्टराई, जगन्नाथ भट्टराई र सचिव कार्की थिए। 

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले उपभोक्ताको अधिकार सुरक्षित गर्न बजार, सहकारी र अन्य क्षेत्रको अनुगमनलाई निरन्तर र प्रभावकारी बनाउने बताए। 

उपप्रमुख उप्रेतीको नेतृत्वमा रहेको बजार अनुगमन टोलीमा राजस्व शाखा प्रमुख प्रेमप्रसाद पराजुली, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरकी खाद्य निरीक्षक सङ्गीता साह, जिल्ला प्रशासन कार्यालय झापाका नायब सुब्बा हरि खतिवडा, घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका नायब सुब्बा सुरेश गौतम, गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरका नायब सुब्बा विजयनन्द चौधरी, मेची उद्योग वाणिज्य सङ्घका सदस्य विष्णु बुढाथोकीलगायत प्रहरी सहभागी थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार