इटहरीमा ट्याक्टरको ठक्करबाट घाइते भएका वृद्धको मृत्यु

आइतबार, १४ बैशाख २०८२

इटहरी : सुनसरीको इटहरीमा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको मृत्यु भएको छ। 

वैशाख ५ गते दिउँसो १२ः२० बजे, इटहरी ६ स्थित पूर्वलाइन ट्याङ्ग्राखोला नजिकै पूर्व–पश्चिम लोक मार्गमा सडक पार गर्दै गरेका अन्दाजी ८० देखि ८२ वर्ष उमेरका डिल्ली बहादुर कार्कीलाई ट्याक्टरले ठक्कर दिएको थियो।  कार्कीलाई तालतलैयाबाट इटहरीतर्फ जाँदै गरेको को २ त ९९८२ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।   

ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि इटहरी सामुदायिक अस्पताल लगिएको थियो। प्रारम्भिक उपचारका क्रममा उनको टाउकोमा गहिरो चोट लागेको र उनी हल्का बोल्न सक्ने अवस्थाका साथ स्वास्थ्य अवस्था मध्यम रहेको चिकित्सकहरूले बताएका थिए। 

तर, अवस्था जटिल देखिएपछि सोही दिन दिउँसो १ः२० बजे उनलाई थप उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल, बुढीगंगा, मोरङ रेफर गरिएको थियो। 

विराट मेडिकल कलेजमा उपचारपछि पनि सुधार नआएपछि उनका छोरा कर्ण बहादुर कार्कीले वैशाख १३ गते उनलाई अस्पतालबाट घर लगेका थिए। तर, घर लैजाँदै गर्दा बाटोमै सोही दिन बेलुकी ६ः३० बजे  कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृतकको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। 

उक्त दुर्घटनामा संलग्न ट्याक्टर र चालक इटहरी–१६ निवासी ३२ वर्षीय होम नारायण चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले नियन्त्रणमा लिएको छ।

 दुर्घटनास्थल इटहरी प्रहरी कार्यालयबाट करिब ५०० मिटर पूर्वमा रहेको बताइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार