हरियो चियापत्तिको मूल्य निर्धारण हुन्छ तर कार्यान्वयन हुँदैन

आइतबार, १४ बैशाख २०८२

इलाम : चिया टिपाइको सिजन सुरु भएसँगै किसान चिया टिप्न व्यस्त बनेका छन् । पहिलो टिपाइको चिया गुणस्तरीय हुने भएकाले किसानले मिहिनेत लगाएर टिप्ने गर्छन् । इलाममा चियाका सानाठूला गरेर करिब एक सयको सङ्ख्यामा चिया उद्योगहरू छन् । चिया प्रशोधन उद्योगले सुरुमा चियाको मूल्य निर्धारण गर्छन् । तर, निर्धारण गरिएको मूल्य किसानले पाउन मुस्किल हुन्छ ।

चिया अर्कै उद्योगमा जान्छ कि भनेर सुरुमा राम्रो अनि आकर्षक मूल्य निर्धारण गर्ने गरेका छन्, यहाँका चिया उद्योगहरूले । पछि चियाको मुख्य सिजन असार–साउनमा बढी चिया उद्योगमा आउन थालेपछि तोकिएको मूल्य कहाँ हराउँछ, किसानलाई थाहै हुँदैन । आफूखुसी चियाको न्यूनतम मूल्य निर्धारण गर्ने चिया उद्योगले आफूखुसी नै मूल्य घटाउने गरेका छन् । यो चलन विगत वर्षदेखि कायम छ ।

भर्खरै इलाम नगरपालिका–१ मा सञ्चालित हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालिले चियाको मूल्य न्यूनतम ३५ देखि ८० रुपैयाँसम्म निर्धारण गरिएको छ । चियाको ग्रेड छुट्याएर मूल्य निर्धारण गरिएको छ । पछिल्लो समय चिया अर्ग्यानिक गर्न थालिएको छ । अर्ग्यानिक चियाको मूल्यसमेत महँगो हुने गरेको छ । हिमालयन सांग्रिलाको सन् २००८ मै उद्योग अर्ग्यानिक प्रमाणीकरण भएको कम्पनीका म्यानेजर दिनेशकुमार रसाइलीले बताए ।

उनका अनुसार उद्योगले कुनै पनि विषादी प्रयोग गरेको चिया खरिद गर्दैन । अर्ग्यानिक प्रमाणित भएको चियाको मूल्य पाँच देखि २५ रुपैयाँसम्म मूल्य रहेको छ । चियाको न्यूनतम मूल्य ३५ कायम गरेर सो उद्योगले किसानलाई सूचना जारी गरेको छ । गुणस्तरका आधारमा चियालाई ७० प्रतिशत, ८० प्रतिशत र ९० प्रतिशत गरेर वर्गीकरण गरिएको छ । ९० प्रतिशत ग्रेड भनिएको (दुई पात एक सुइरो) चियालाई उत्कृष्ट चियाका रूपमा लिइन्छ ।

हरियो पत्तीकै मूल्य प्रतिकिलो ७८ र थप रुपैयाँ बोनससहित ८० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ । यो अर्ग्यानिक प्रमाणीकरण भएको चियाको मूल्य हो । अर्ग्यानिक प्रमाणित नभएको चियाको मूल्य सोही गुणस्तरमा प्रतिकिलो ६५ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, दुई पात एक सुइरो ८० प्रतिशत ग्रेडको चियाको मूल्य प्रतिकिलो ६५ रुपैयाँ कायम गरिएको छ । यो अर्ग्यानिक प्रमाणीकरण भएको चियाको मूल्य हो । अर्ग्यानिक प्रमाणीकरण नभएको चियाको मूल्य प्रतिकिलो ५२ निर्धारण गरिएको छ ।

७० प्रतिशत ग्रेड चियाको मूल्य दुई पात एक सुइरो (नरम बाँझी एक पात तथा फट्टा) प्रतिकिलो ४० निर्धारण गरिएको छ । अर्ग्यानिक प्रमाणीकरण नभएको चियाको मूल्य प्रतिकिलो ३५ मात्र निर्धारण गरिएको छ । त्यसो त पहिलो टिपाइको चिया गुणस्तरको हुने भएकाले मूल्य उच्च पर्ने किसान तथा चिया उद्योग सञ्चालक बताउँछन् । सिद्धेश्वर टी स्टेट तथा सूर्योदय टी स्टेट सञ्चालक उत्तम प्रधानले यस वर्ष सुरुमा आफ्नो उद्योगले पनि शतप्रतिशत चियाको प्रतिकिलो ९० रुपैयाँसम्म मूल्य दिएको जानकारी दिए ।

अब आगामी दिनको चियाको मूल्य निर्धारण गर्ने तयारी भइरहेको उनको भनाइ छ । असार–साउनमा किसानले उच्च गुणस्तरको चिया ल्याउन नसक्ने हुँदा त्यति बेला मूल्य घट्ने उनले बताए । सूर्योदय नगरभित्रका चिया उद्योगीले सूर्योदय टी एसोसिएसन दर्ता गरेर सङ्गठित भएका छन् । एसोसिएसनमा हालसम्म २१ वटा उद्योग दर्ता भएको अध्यक्ष डिल्लीराम श्रेष्ठले बताए ।

उनका अनुसार पहिलो टिपाइको मूल्य सबै खाले प्रतिकिलो ६० निर्धारण गरिएको थियो । सो मूल्य चैतभर लागू भइसकेको छ । वैशाख लागेपछि राम्रो गुणस्तरको चियाको प्रतिकिलो ५० र सात रुपैयाँ ढुवानी जोडेर प्रतिकिलो ५७ निर्धारण गरिएको छ । त्यस्तै, दोस्रो दर्जाको चियाको प्रतिकिलो ४० र ढुवानीको सात रुपैयाँ जोडेर प्रतिकिलो ४७ रुपैयाँ निर्धारण गरिएको छ ।

सूर्योदय नगरपालिकाले हरियो चिया पत्तीको न्यूनतम समर्थन मूल्य ४० रुपैयाँ कायम गरेको छ। यो गत वर्षको समर्थन मूल्य भएकाले किसानले परिमार्जन गर्नुपर्ने माग गर्दै आएका छन् । सुरुमा केही उद्योगले मूल्य निर्धारण गरे पनि पछि गएर तोकिएको मूल्य नदिने गरेको किसानको गुनासो छ । नेपाली तयारी चिया भारतको बजारमा भर पर्नुपर्ने अवस्था छ ।

इलामलगायत पूर्वमा ११ हजार ५६९ हेक्टरमा चिया खेती भइरहेको सरकारी तथ्याङ्क छ । १४ हजार ८ सय ९८ साना किसान चिया खेतीमा संलग्न छन् । तथ्यांकअनुसार १ करोड ८२ लाख केजी सिटिसी तथा ४९ लाख किलो अर्थोडक्स चिया उत्पादन भइरहेको छ ।

प्रतिक्रिया

टीका खतिवडा
लेखकको बारेमा
टीका खतिवडा

इलामबाट पत्रकारिता गर्ने खतिवडा, प्रदेश खबरका लागि समेत कलम चलाउँछन् ।

सम्बन्धित समाचार