धरान (सुनसरी) : इटहरी उपमहानगरपालिका–४ का युवराज भट्टराईले मौरीपालन गरेर वार्षिक रु आठ लाख बढी आम्दानी गर्दै आएका
छन ।
मौरी चरनका लागि मौसम अनुकूल भएमा मह धेरै उत्पादन हुन्छ । आधुनिक प्राविधि प्रयोग गरी मौरीपालनबाट मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन, भट्टराई ।
“बुवाकै सल्लाहमा विसं २०७२ मा मौरीपालन सुरु गरको हुँ”, उनले भने । हाल ६२ घार मौरी उनले पाल्दै आएका छन । वार्षिक नौ देखि १२ क्वीन्टलसम्म मह उत्पादन हुने र त्यसबाट रु आठ लाख बढी आम्दानी गरिरहेको उनले बताए ।
सुरुमा मह उत्पादन भएपनि बजारको समस्या थियो । अहिले त्यो समस्या समाधान भएको छ । उत्पादित मह बिक्री हुने गरेको छ । मौरीलाई दैनिक स्याहार्नु पर्दैन ।
चार/पाँच दिनमा घारको अवस्था, मौरीको सक्रियता, खानको लागि फूलको रस पुगेको छ कि छैन, रोग लागेको छ कि छैन भनेर निगरानी गर्दा हुने उनको भनाइ छ ।
भट्टराईले युरोपेली मेलिफेरा जातको मौरीपालन गरिरहेका छन । यो जातको मौरी रोगप्रतिरोधी हुने र मह उत्पादन धेरै गर्छ । घारलाई भने घाम लाग्ने पारिलो ठाउँमा ठाउँमा राख्नुपर्छ ।
मौरीलाई फूल फुल्ने बोटबिरुवा पानीको स्रोत हुनुका साथै शान्त वातावरण आवश्यक पर्छ । त्यसैले एकदेखि दुई महिनामा स्थान परिवर्तन गराइदिने गर्नुपर्छ ।
भट्टराईको फार्ममा उत्पादित मह स्थानीय बजारका साथै विराटनगर, दमक र काठमाडाँैसम्म बिक्री हुने गर्छ ।
“अनलाइन अर्डर हुँदा कुरियर गरेर पठाउने गरेको छु”, भट्टराईले भने, “महको मूल्य गुणस्तर, स्वाद साथै खर्च हेरेर निर्धारण गरिन्छ, । मैले धेरै जसो तोरी बारीमा, आँप, लिची, सूर्यमुखी फूललगायत बगानमा सिजनअनुसार मौरी चराउन लाने गरेको छु ।
अहिले प्रतिकेजी रु एक हजारमा मह बिक्री गर्दै आएको छु । महसँगै रु १० हजारका दरले मौरीसहितको घारसमेत बिक्री गर्दै आएको छु”, उनले भने ।
इटहरी उपमहानगरपालिकाले वर्षमा केही उपकरण र घार अनुदान दिएको छ । यसलाई अझ व्यवस्थित गर्न बजारको अध्ययनसँगै आधुनिक प्रविधिको घार, मौरीपालन सीपका लागि सरकारबाट सहयोग भएमा आम्दानीको राम्रो सम्भावना रहेको उनको भनाइ छ ।
प्रतिक्रिया