काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा योजना सुरू गर्दा व्यङ्ग्य र ट्रोलहरू सहनुपरेको गुनासो गरेका छन्। मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिकहरूलाई शुभकामना दिँदै उनले नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएको उल्लेख गरे। ओलीले श्रमिकको पसिनाले देश अघि बढेको दाबी गरे।
‘देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले।’ शुभकामना दिँदै एमाले अध्यक्षसमेत रहेका ओलीले भने, ‘श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि जब योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्यौं, व्यङ्ग्य र ट्रोलहरू सहनुपर्यो। तर आज, ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै—२० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका छन्।’
उनले अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित हुने बताए। ‘अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ। छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन—श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौं।’ उनले भने, ‘श्रमलाई सम्मान गरौं, श्रमिकलाई सम्मान गरौं। जय श्रमिक, जय देश १’
वि।सं २०७५ मंसिर ११ गते प्रधानमन्त्री ओलीले नै योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेका हुन्। २०७५ मंसिर ३ गते तत्कालीन ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले ११ गते लाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउने निर्णय गरेको हो । यसबाट नेपालको संविधानको धारा ३४ को उपधारा ९२० अनुसार सामाजिक सुरक्षा पाउने मौलिक हकलाई सुनिश्चित गर्न महत्वपूर्ण आधार तय भएको थियो।
कोषले श्रमिकका लागि औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ। योगदान वापतको रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरेपश्चात् मात्र कोषले सञ्चालनमा ल्याएका सामाजिक सुरक्षा योजना बमोजिमका सुविधाहरु प्राप्त गर्न सकिनेछ।
सामाजिक सुरक्षा योजना एउटा कोष हाल प्रचलनमा रहेको सञ्चय कोष जस्तै हो। यसमा रोजगारदाता र मजदुर (श्रमिक) त्यसका सदस्य हुन्छन्। सञ्चय कोष, नागरिक लगानी कोषमा जस्तै सामाजिक सुरक्षा कोषमा पनि निश्चित रकम जम्मा गरिन्छ। रोजगारदाताबाट २० प्रतिशत र श्रमिकबाट १० प्रतिशत रकम कोषमा जम्मा हुने गरेको छ। ओलीले मेरो सहारा कोही छैन भन्नेका निम्ति राज्य र सरकार रहेको दाबी गर्दै आएका छन्।
‘सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध छ। अब कसैले अनाथ भएँ भन्नु पर्दैन। अनाथ हुनु दुःखको कुरा हो। तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन। मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन। मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन। त्यसका निम्ति राज्य छ र सरकार छ।’ प्रधानमन्त्री ओली भन्छन्, ‘अहिलेको सरकार जनताको सरकार हो। सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिंडेको सरकार हो।’
प्रतिक्रिया