विराटनगरमा पहिलो कोशी आइटी समिट २०२५ सुरु

शनिबार, २० बैशाख २०८२

विराटनगर : कोशी प्रदेशको पहिलो सूचना प्रविधि सम्मेलन ‘कोशी आइटी समिट २०२५’ विराटनगरमा सुरु भएको छ।

विराट मेडिकल कलेजको सभा हलमा भएको सम्मेलनको उद्घाटन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै कार्कीले हाल आइटी (सूचना प्रविधि) क्षेत्रमा सम्भावना उल्लेख्य रूपमा बढेको बताएका छन्।

उनका अनुसार नेपालले आइटी क्षेत्रको विकासबाट व्यापार घाटालाई सम्बोधन गर्दै समृद्धिको मार्गमा अघि बढ्न सक्छ।

उक्त अधिकारीले कोशी प्रदेश सरकार आगामी वर्षको नीति तथा कार्यक्रममा आइटी क्षेत्रलाई प्राथमिकतामा राख्दै विशेष बजेट छुट्याउने स्पष्ट गरेका छन्। उनले बताए अनुसार, प्रदेशले अब आइटीलाई शिक्षा, रोजगारी र नवप्रवर्तनसँग जोडेर विकासको प्रमुख पाटो बनाउने लक्ष्य लिएको छ।

उनले थपे, “नेपालमा आइटीको अत्यन्त ठूलो सम्भावना छ। हामीले यसलाई सही दिशामा अघि बढाउन सके व्यापार घाटा कम गर्नेदेखि आर्थिक समृद्धि हासिल गर्नेसम्मको बाटो तय गर्न सकिन्छ।”

कोशी प्रदेश सरकारले यसअघि पनि केही डिजिटल परियोजनामा लगानी थालेको भए पनि आगामी वर्षदेखि यसलाई अझ संगठित र प्रभावकारी बनाइने उनले बताए । 

नेपाली उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेशद्वारा आयोजित समिटमा प्रविधिका अग्रणी विशेषज्ञहरू सहभागी छन्।

माइक्रोसफ्टका प्रिन्सिपल टेक्नोलोजी आर्किटेक्ट समीर थापा मुख्य वक्ताका रूपमा सहभागी छन्।

WhatsApp Image 2025-05-03 at 11.31.30 AM

सम्मेलनले स्थानीय युवालाई सशक्त बनाउने, स्टार्टअप प्रवर्द्धन गर्ने र कोशीलाई डिजिटल केन्द्र बनाउने लक्ष्य लिएको छ।

आयोजक मुनान रिजालका अनुसार यो सम्मेलन कोशी प्रदेशको डिजिटल भविष्यतर्फको ऐतिहासिक पाइलो हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार