विराटनगर : कोशी प्रदेशको पहिलो सूचना प्रविधि (आईटी) सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचना प्रविधिको विकासका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेशको आयोजनामा विराटनगरस्थित विराट मेडिकल कलेजको सभा हलमा शनिबार आयोजित सम्मेलनमा उनले यस्तो बताएका हुन्।
"कोशीको यो पहिलो आईटी सम्मेलनले हामीलाई थप ऊर्जा दिएको छ," मुख्यमन्त्री कार्कीले भने, "यसै वर्षदेखि सरकारले सूचना प्रविधिमा लगानी बढाएको छ र आगामी आर्थिक वर्षबाट योजनाबद्ध रूपमा अगाडि बढ्ने तयारीमा छ।" उनले प्रदेशको विकासमा प्रविधिको प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै युवाहरूको सुझावको आधारमा आईटी नीति निर्माण गर्ने धारणा राखे।
सम्मेलनमा कोशी प्रदेशमा सूचना प्रविधिका सम्भावना र अवसरहरूबारे प्रस्तुत गर्दै वक्ताहरूले कोशीलाई काठमाडौं पछिको आईटी गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका थिए। दिपेश पोखरेलले स्थानीय जनशक्तिलाई प्रदेशमै अवसर दिनुपर्ने आवश्यकता औँल्याउँदै सरकारलाई योजनाबद्ध रूपमा अघि बढ्न सुझाव दिए।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश युवा उद्यमी मञ्चका अध्यक्ष मुनान रिजालले कोशीलाई डिजिटल केन्द्रको रूपमा विकास गर्दै स्टार्टअपहरूलाई आवश्यक सहयोग पुर्याउने र प्रविधिमा आधारित नीति निर्माण गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको जानकारी दिए।
समिटमा प्रविधिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूले सहभागिता जनाएका थिए। उनीहरूले प्रविधिमा कोडिङ मात्र नभई विविध क्षेत्रमा सम्भावना रहेको बताउँदै सिकाइ, सृजनशीलता र नवप्रवर्तनमा ध्यान दिनुपर्नेमा जोड दिए।
कोशी प्रदेशमा पहिलोपटक आयोजित यो सम्मेलनलाई स्थानीय युवाहरू, नीति निर्माता र प्रविधिकर्मीबीच सहकार्यको सुरुवातको रूपमा हेरिएको छ। मुख्यमन्त्री कार्कीले प्रदेश सरकार प्रविधिमैत्री वातावरण निर्माण गर्न दृढ रहेको पुनः दोहोर्याएका छन्।
प्रतिक्रिया