झापा : बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलामतर्फ जाने सडक किनारमा ढकमक्क फुलेका गुलमोहरका रुखहरूले सडक यात्रालाई रङ्गीन बनाएका छन्। यिनै फुलहरूले दैनिक हजारौँ पर्यटकको ध्यान खिच्ने गरेका छन्।
विशेषगरी बर्ने चिया बगानको हरियालीबीच राताम्य भएर फुलेका गुलमोहरहरू सामाजिक सञ्जालका लागि फोटो खिच्नेहरूका लागि लोभलाग्दो पृष्ठभूमि बनेका छन्। गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँका अनुसार यस्ता दृश्य अवलोकन गर्न आउनेहरूको औपचारिक तथ्यांक नभए पनि चहलपहल दिनप्रतिदिन बढ्दो छ।
यात्रीको सुविधाका लागि गाउँपालिकाले पिउने पानी, शौचालय र चौतारो जस्ता संरचना निर्माण गरिसकेको छ भने स्थानीयहरूले चिया पसल र साना होटलहरू पनि खोल्न थालेका छन्। गुलमोहर भएको आधा किलोमिटर सडक खण्डमा ब्लक बिछ्याएर ‘टिकटक रोड’ नाम दिइएको छ, जहाँ फोटो र भिडिओ खिच्न चाहनेको भिड लाग्ने गर्छ।
इलामको कन्याम, श्रीअन्तु र माइपोखरीतर्फ जानेहरूका लागि यो गुलमोहर सडक थप आकर्षण बनेको छ। यही बाटो हुँदै कोशी प्रदेशकै लामो झोलुङ्गे पुल (बुद्धशान्ति–६ मा रहेको) हेर्न जानेहरूले पनि गुलमोहरको सौन्दर्य अवश्य अनुभव गर्छन्।
पर्यटन प्रवर्द्धनका लागि पालिकाले गत वर्ष दुई सयभन्दा बढी गुलमोहरका बिरुवा रोपेको छ। शनिबार र बिदाका दिन गुलमोहर हेर्न आउनेको संख्या झन् बढी हुने गरेको छ, जसले सार्वजनिक सवारी साधनमा यात्रुको चापसमेत वृद्धि गरेको छ।
प्रतिक्रिया